Odapalika - The Fourth Estate - चौथो अंग
इन्द्रजात्राको लागि यःसिं लिन मानन्धर समुदायका अगुवाहरु वन प्रस्थान

काठमाडौँ । यस वर्षको यँयाः अर्थात इन्द्रजात्राको लागि यःसिं लिन मानन्धर समुदायका अगुहरु वन प्रस्थान गरेका छन । प्रत्येक वर्ष झैं यस वर्ष आज यंलाथ्व दुतिया (भदौ ९ गते) सोमबारको दिन केन्द्रीय मानन्धर संघका पदाधिकारीसहित मानन्धर समुदायका विभिन्न टोलका मानन्धर प्रतिनिधि, गुथि संस्थान, शार्दूल जंग गुल्म (गुरुजुको पल्टन) सहितको टोली वन प्रस्थान गरेका हुन् ।

पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा दिइएको साइतअनुसार आज विहान ठीक ९ः४६ को साइतमा हनुमानढोकाको मूल ढोकाबाट बाहिरिएर वन प्रस्थान गरेका हुन् । आज वन प्रस्थानका लागि संघको अगुवाईमा गएका प्रतिनिधिहरुले आजै राति यस वर्षको यँया (इन्द्रजात्रा) को लागि यःसिं काट्ने अर्थात वृक्ष कर्तन गरिने छ । 

यस वर्षको इन्द्रजात्राको लागि समिति दिएको साइतअनुसार आज राति ९ः०३ को साइतमा वृक्ष कर्तन गरिनेछ । यसभन्दा अघि यःसिंको लागि छानिएको सल्लाको रुखमा विधि परम्पराअनुसार कालो बोकोसहित पुजा गरिनेछ । 

त्यसपछि सुनको बञ्चरो, चाँदीको बञ्चरोले सांकेतिक रुपमा घाउ गरेपछि रुख काट्न शुरु गरिनेछ । आज राति साइत मात्र गरेपछि भोलि विहानै देखि यःसिंको लागि छनोट गरिएको रुख काट्न शुरु गरिन्छ भने भोलि नै उक्त यःसिं भक्तपुरको चित्तपोलदेखि तानेर ल्याइन्छ । 

सकेसम्म भोलि बेलुका नसके पर्सिसम्म यःसिं तानेर काठमाडौंको भोताहितिमा राखिनेछ । यसरी भोताहितिमा राखिएको यःसिं यंलाथ्व अस्तमि (कायाःस्तमि) को दिन विहान ९ः५२ को साइतमा तानेर नगर प्रवेश गराइन्छ । भोताहितिबाट तानेर नगर प्रवेश गराइएको यःसिं हनुमानढोका कालभैरव र कागेश्वर महादेवका मन्दिर अगाडी राखिनेछ । 

त्यसपछि यंलाथ्व द्वादशि (भदौ १९ गते) विहीवार विहान १०ः३१ को शुभ साइतका यःसिं उठाइने इन्द्रध्वजोत्थान गरिने छ । यःसिं उठाएपछि काठमाडौंको मुख्य तथा ऐतिहासिक, धार्मिक यँया (इन्द्रजात्रा) औपचारिक रुपमा शुरु भएको मानिन्छ ।

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १३:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update