इच्छाकामना गाउँपालिकामा चेपाङ समुदायको सामूहिक ‘न्वागी’

चितवन ।  चेपाङ समुदायले सामूहिक रूपमा न्वाङ्गी (छोनाम) पर्व मनाएका छन्। यहाँको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा आइतबार देशभरका चेपाङ भेला भएर सामूहिक रूपमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी न्वाङ्गी मनाएका हुन्। 

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठको प्रमुख आतिथ्यतामा न्वाङ्गी पर्व मनाएका हुन् । मन्त्री श्रेष्ठले  ढ्याङ्ग्रो ठोकेर कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा मन्त्री श्रेष्ठले चेपाङ जातिको उत्थान र संस्कृतिको संरक्षणका लागि बागमती प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।  

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले न्वाङ्गी पर्व चेपाङ समुदायको संस्कृति संरक्षणका लागि महत्त्वपूर्ण रहने बताए। सो अवसरमा चेपाङ झाँक्री (पान्दे) लगायत चेपाङ समुदायको संस्कृतिका आधारित सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो।


नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले न्वाङ्गी पर्व चेपाङ समुदायले परापुर्वकालदेखि मनाउँदै आइरहेको पर्व रहेको बताए । पहिला गाउँगाउँमा भेला भएर मनाउँदै आए पनि बिस्तारै लोप हुँदै जान थालेपछि  सङ्घको अगुवाइमा देशभरका चेपाङलाई भेला गरी २०६३ सालदेखि सामूहिक रूपमा मनाउन सुरु गरिएको जानकारी दिए।

चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ। न्वाङ्गीका दिन घैया धानको चामल, कागुनो, पिँडालुलगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ। यो पर्व चेपाङले नयाँ अन्न खाने दिन पनि हो।

न्वाङ्गीमा चेपाङ झाँक्री (पान्दे) ले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउँछन्। यस दिन चेपाङ समुदायले कुनै काम नगरी रमाइलो गर्छन्। नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुख दुःख साट्ने गर्छन्। न्वाङ्गी चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको पर्व हो।

चेपाङ समुदायले चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा पालैपालो गरी सामूहिक रूपमा न्वाङ्गी मनाउँदै आएका छन्। गत वर्ष गोरखाको गण्डकी गाउँपालिकामा न्वाङ्गी मनाएका थिए। 

२०७८ सालको जनगणना अनुसार नेपालमा चेपाङ्को सङ्ख्या ८४ हजार ३६४ जना छन्। चेपाङ समुदाय देशको २६ जिल्लामा बसोबास गर्छन्।  

चितवनमा मात्रै चेपाङको सङ्ख्या ३५ हजार ६३७ छ। यसपछि मकवानपुरमा २३ हजार ६५०, धादिङमा १७ हजार १६० र गोरखामा चार हजार २६८ जना छन्।

न्वाङ्गीको अवसरमा बागमती प्रदेश सरकारले विसं २०७९ देखि चितवन, मकवानपुर र धादिङ गरी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदासमेत दिँदै आएको छ । साथै गोरखाको गण्डकी गाउँपालिकाले पनि सार्वजनिक बिदा दिँदै आएको छ। 
 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update