
लहान । लहान नगरपालिकाले सगरमाथा चौधरी आँखा अस्पतालसँगको सहकार्यमा पछिल्लो तीन वर्षयता आँखासम्बन्धी समस्या भएका नगरबासीको निशुल्क उपचार गर्दै आएको छ ।
पछिल्लो तीन आर्थिक वर्षमा मात्र १५ हजार आँखाका रोगीको निःशुल्क उपचार गरेको नगरपालिकाले जनाएको छ । तीमध्ये दुई हजार जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।
लहान–१५ ढोड्नामा आज सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरको उद्घाटन गर्दै नगरप्रमुख महेश प्रसाद चौधरीले यस्तो जानकारी दिएका हुन् ।
‘कोही पनि नगरवासी आर्थिक अभावमा आँखाको समस्याबाट पीडित नहुन् भनेर हामीले यो कार्यक्रमलाई निरन्तरता दिएका छौँ । यसमा लागेको सम्पूर्ण खर्च नगरले बेहोर्ने छ । यस वर्ष पनि वडा नम्बर १५ बाट सुरुआत भइसकेको छ र नगरका २४ वटै वडामा शिविर सञ्चालन गरिनेछ,’ उनले भने ।
कार्यक्रममा सगरमाथा चौधरी आँखा अस्पतालका अध्यक्ष रवीन्द्रलाल चौधरीले तमसो मा ज्योतिर्गमय भन्ने नारासहित अस्पतालले हरेक वर्ष करिब २५ लाख आँखाका बिरामीको उपचार गरिरहेको जानकारी दिए ।
उनले विभिन्न स्थानीय तहसँगको सहकार्यमा अस्पतालले दक्ष जनशक्ति र प्रविधिसहित आँखा जाँच शिविरलाई निरन्तरता दिइरहेको बताए ।
त्यसैगरी अस्पतालका प्रशासन प्रमुख अभिषेक रोशनले हालका दिनमा वृद्धि भएको मधुमेहका कारण आँखाका रोग विकराल बन्दै गएकाले हरेक छ महिनामा आँखाको जाँच गराउन आग्रह गरे । स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीले समयमै आँखाको जाँच गरिए अन्धोपनबाट बच्न सकिने भएकाले सचेतना फैलाउनुपर्नेमा जोड दिए ।