Odapalika - The Fourth Estate - चौथो अंग
तनहुँका स्थानीय तहले गरे १५ किलोमिटर सडक कालोपत्रे, कुनले कति ?

दमौली । तनहुँ जिल्लाका स्थानीय तहले एक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेका छन् । 

गत आर्थिक वर्षमा जिल्लाका छ गाउँपालिकाले १५.६२ किलोमिटर सडक कालोपत्र गरेका हुन् । त्यस्तै ती पालिकाले ३८ दशमलव ५५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलेका छन् । 

म्याग्दे गाउँपालिकाले एक वर्षको अवधिमा १.५ किलोमिटर सडक कालोपत्र गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । त्यस्तै २.५५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको छ भने ३.१ किलोमिटर ग्राभेल गरिएको छ । सोही अवधिमा चार पक्की पुल निर्माण गरिएको अधिकारीले बताए ।

व्यास नगरपालिकामा नौ किलोमिटर सडकको ट्रयाक खोलिएको छ । प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार पाँच दशमलव दुई किलोमिटर ग्राभेल, तीन दशमलव ९४ किलोमिटर कालोपत्र गरिएको छ एउटा पक्की पुल निर्माण गरिएको छ ।

ऋषिङ गाउँपालिकामा पाँच किलोमिटर सडकको ट्रयाक खोल्ने काम गरिएको प्रमुख प्रशासकीय अधिकृत अनिल अम्गाईले जानकारी दिए । उनका अनुसार १२ किलोमिटर सडक ग्राभेल गरिएको छभने एक किलोमिटर कालोपत्र गरिएको छ । त्यस्तै एउटा पक्की पुल निर्माण भएको उनले बताए ।

बन्दीपुर गाउँपालिकामा १८ किलोमिटर सडकको ट्रयाक खोलिएको प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसीले जानकारी दिए । १३ किलोमिटर सडक ‘ग्राभेल’ गरिएको बन्दीपुरमा चार किलोमिटर सडक कालोपत्र गरिएको उनले बताए ।

घिरिङ गाउँपालिकामा एक दशमलव दुई किलोमिटर सडकको ट्रयाक खोलिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले जानकारी दिए । ढकालका अनुसार दुई दशमलव पाँच किलोमिरट सडकको ग्राभेल गरिएको छ भने एक किलोमिटर सडक कालापत्रे गरिएको छ । 

आँबुखैरेनी गाउँपालिकामा चार दशमलव ६३ किलोमिटर सडक कालोपत्र गरिएको छभने दुई दशमलव आठ किलोमिटर ट्रयाक खोलिएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त तिमिल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update