Odapalika - The Fourth Estate - चौथो अंग
तोडफोड र आगजनीमा संलग्नलाई सार्वजनिक गर्न माग
फाइल फोटो

काठमाडौं - नेकपा (एमाले)का युवा नेताले गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड र आगजनीमा संलग्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

एमाले केन्द्रीय सदस्य तथा निवर्तमान मन्त्री भगवती न्यौपाने, पोलिटब्युरो सदस्य शान्ता चौधरी, केन्द्रीय सदस्यहरू पार्वती रावल, अइन्द्रसुन्दर नेम्वाङ, गोविन्द थापा र एमाले शिक्षा विभाग सदस्य डा. सुन्दरी पोखरेलले शनिबार (कात्तिक ८) संयुक्त विज्ञप्ति जारी गरी उक्त प्रदर्शनमा संलग्नमध्ये हालसम्म पक्राउ परेका र मुद्दा दायर गरिएकाको विवरण सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन् । 

लुटिएका हातहतियार र गोलीगट्ठा कति संख्यामा बरामद गरिन्छ, हरेक दिन विवरण सार्वजनिक गर्नुस् भन्दै उनीहरूले लुटेराको विवरण र सरकारी तथा निजी घरमा आगजनी गर्ने, लुटपाट गर्ने व्यक्तिलाई सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “प्रदर्शनमा अशान्ति फैलाउने, सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड तथा आगजनी गर्ने विभिन्न गिरोहका नाइके र सदस्यलाई पक्राउ गरेर कारबाही गरिएको तथा उनीहरूविरुद्ध मुद्दा चलाइएको विवरण दिनहुँ सार्वजनिक गर्नुहोस् ।” 

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२  २१:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update