काठमाडौं - सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ ।न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले आज मुख्यमन्त्री यादवलाई १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।
मुख्यमन्त्री यादवविरूद्ध कृष्णप्रसाद यादवसहित मधेस प्रदेशका ७४ जना सांसदहरूले दायर गरेको रिट निवेदनको आज प्रारम्भिक सुनुवाइ गरेको हो । अदालतले यही कात्तिक ३० गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
आदेशमा भनिएको छ, “प्रकृति एवं गाम्भीर्यता समेतलाई विचार गरी दुवै पक्षबीच छलफल गरी दुवै पक्षलाई राखी निष्कर्षमा पुग्नु उपयुक्त हुने देखिँदा अन्तरिम आदेश छलफल प्रयोजनार्थ मिति २०८२/७/३० गतेको पेसी तोकी सोको जानकारी विपक्षीहरुलाई दिइ नियमानुसार पेस गर्नु ।”
अदालतले मुख्यमन्त्री नियुक्तिसम्बन्धी यही कात्तिक २३ गतेको निर्णय, मन्त्रिपरिषद् गठनसम्बन्धी सम्पूर्ण कागजातसहितको फाइल झिकाउन भनेको छ ।





