काठमाडौँ- भारतको बिहार राज्यमा सम्पन्न विधानसभा चुनावको मतगणना आज (शुक्रबार) सुरु हुँदै छ।
राज्यका ३८ जिल्लाका ४६ मतगणना केन्द्रमा अहिले बिहान ८ बजेदेखि मतगणना थालिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यसका लागि कडा सुरक्षा व्यवस्था मिलाइएको छ। अधिकारीहरूले मतगणनाका कारण शुक्रबार पटनाका सबै विद्यालय बन्द रहने बताएका छन्।
२४३ सिट भएको विधानसभाको मतदान नोभेम्बर ६ र ११ मा दुई चरणमा गरिएका थिए।
जसमा ६७.१३ प्रतिशत मतदाताले मतदान गरेका थिए, जुन अहिलेसम्मकै उच्च मतदान भएको बताइएको छ।
भारतको निर्वाचन आयोगले सबै २४३ विधानसभा निर्वाचन क्षेत्रमा गणनाका लागि तयारी पूरा भएको जनाएको छ।
मतगणना २४३ जना निर्वाचन अधिकारी र समान संख्यामा पर्यवेक्षकको उपस्थितिमा हुनेछ। साथै उम्मेदवार र उनीहरूका प्रतिनिधि पनि उपस्थित हुनेछन्। मतगणनाका लागि कुल ४ हजार ३७२ टेबल स्थापना गरिएका छन्।





