Odapalika - The Fourth Estate - चौथो अंग
सिमरामा एमाले र जेनजी युवाबीच झडप, प्रशासनले लगायो कर्फ्यू

काठमाडौँ । बाराको सिमरा विमानस्थल क्षेत्रमा नेकपा एमाले र जेनजी युवाबीच झडप भएपछि कर्फ्यू लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको हो ।

बाराको सिमरामा भएको झडपमापछि स्थिति भड्किन नदिने कर्फ्यू लगाइएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म बुधबार दिउँसो साढे १२ बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ ।

एमाले नेता महेश बस्नेत आउने भएपछि बाराको सिमरामा प्रहरी र जेनजी युवाबीच झडप भएको छ ।

सिमरा एयरपोर्टमा जेनजीले विरोधको कार्यक्रम गरिराख्दा युवा संघका कार्यकर्तासँग भानाभान भएको थियो ।

त्यस क्रममा प्रहरी र जेनजीबीच झडप भएको हो । झडपका कारण त्यहाँको अवस्था अहिले तनावग्रस्त बनेको छ ।

युवा जनजागरण अभियान कार्यक्रम अन्तर्गत आज बाराको परवानीपुरमा नेकपा एमालेका युवा संगठन युवा संघले मधेश प्रदेश स्तरीय कार्यक्रम आयोजन गरेको छ ।

कार्यक्रम सम्बोधन गर्नका लागि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेता महेश बस्नेत आउने तय भएको थियो ।

उनीहरूलाई रोक्न जेनजी युवाहरू सक्रिय भएका छन्।

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update