पर्वत । पर्यटन पूर्वाधारका आयोजनाको सम्झौता निर्माणस्थलमा नै हुन थालेका छन् ।
पर्यटन तथा उद्योग कार्यालयले प्राविधिक र कर्मचारीको उपस्थितिमा निर्माण कम्पनीका प्रतिनिधिसँग निर्माणस्थलमा नै सम्झौता हुन लागेको हो । चालु आर्थिक वर्षका लागि बजेट विनियोजन भएका आयोजनाहरु नियमित समयमा सम्पन्न गर्न निर्माणस्थलमा नै सम्झौता गर्न थालिएको कार्यालयका प्रमुख पोषनाथ शर्माले जानकारी दिए ।
पर्वतमा चालु आर्थिक वर्षका लागि एक सय ११ वटा आयोजना सञ्चालन गर्न बजेट विनियोजन भएको छ । जिल्लाको दक्षिणी भेगका विहादी, पैँयु र महाशिला गाउँपालिकामा ५० वटा साना तथा मझौला आयोजना निर्माणको सम्झौता भएको छ ।
पैँयू गाउँपालिका–२ का वडाध्यक्ष नरभूपाल काफ्ले कार्यस्थलमा सम्झौता गर्ने अभ्यासले समयमा नै आयोजना पूरा गर्न सहज भएको बताए । हालै आफ्ना वडाका मन्दिर निर्माणका सम्झौता भएका उनले जानकारी दिए । हालसम्म ११ वटा आयोजना सम्पन्न भएका छन् ।







