Odapalika - The Fourth Estate - चौथो अंग
सर्वोच्चले संसद् नब्युँताए एमाले सडक आन्दोलनमा उत्रिने 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको पूर्वसन्ध्यामा विभिन्न समाचारमाध्यमका सम्पादकसँग कुरा गर्दै सर्वोच्च अदालतले संसद् पुनस्र्थापना नगरेमा आफ्नो दल निर्णायक आन्दोलनमा जाने बताएका छन् । 

गत भदौ २३ र २४ गतेको आन्दोलनले जनताको लोकतन्त्र खोसिएको र यो सरकार गैरसंवैधानिक तवरले बनेकाले नेपालको संविधान र विगतमा सर्वोच्चले लिएका निर्णयका आधारमा संसद् पुनस्र्थापना हुनेमा आफू विश्वस्त रहेको बताए । तर, त्यसो हुन नसकेमा जुन बाटोबाट सरकार र संविधान खोसिएको थियो त्यही बाटोबाट फिर्ता ल्याउने दाबी गरे । 

“हैसियतबिनाको व्यक्तिबाट भएको असंवैधानिक संसद् विघटन खारेज हुनुपर्छ,” उनले जोड दिँदै भने । ओलीका अनुसार अहिलेको अवस्था सूर्यग्रहण लागेको वा आँधी, तुफान आएजस्तो अवस्था हो, जुन लामो जाँदैन ।

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनको समयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘किन बचाउनुप¥यो तिनीहरूलाई ?’ भनेको भिडियो आफूले प्राप्त गरेको दाबी गर्दै उनको मानवीयता कस्तो हो भन्ने प्रश्न पनि ओलीले गरे । 

एमालेको ११औं महाधिवेशनको पूर्वसन्ध्यामा आफ्नो धारणा सार्वजकि गर्ने क्रममा ओलीले एमालेको आन्दोलन हिंस्रक, गैरजिम्मेवार र अर्काको घर तथा सम्पत्ति जलाउन जाने तवरको नहुने तर निकै प्रभावशाली र जिम्मेवार आन्दोलन हुने बताए ।जेनजी आन्दोलनले पुरानो सरकारलाई अपदस्थ गरेर नयाँ सरकार बनाएको भए तापनि त्यो सरकार नागपञ्चमीमा कुनै पण्डितले गोबर लगाएर टाँसेको नागकोभन्दा बढी हैसियत नभएको टिप्पणी ओलीको छ । 

“विभिन्न प्रकारको स्टन्टबाजी र चमत्कार देखाएर सरकारमा पुग्ने काम एमालेले गर्दैन, हामी गम्भीर ढंगले देशको निर्माण गर्ने बाटोमा छौं,” उनले प्रस्ट पारे । सुशीला कार्कीको सरकार फेद न टुप्पोको भएको र यसले नचाहिँदो ताउरमाउर देखाएको भन्दै वर्तमान सरकारको निन्दासमेत गरे । 

यो सरकारले निर्वाचित जनप्रतिनिधिलाई निलम्बित गर्ने र संसद् विघटन गर्ने म्यान्डेट कहाँबाट र कसरी पायो भन्ने प्रश्न गर्दै ओलीले भने, “जेनजी प्रतिनिधि र सरकारकाबीच हिजो भएको सम्झौता एक कलाविहीन नाटक हो ।” “त्यो सम्झौतालाई हिजै जेनजीले नै च्यातिसकेका छन् । हामी त्यस्ता फजुल कागजलाई कुनै मान्यता दिँदैनौँ,” ओलीले स्पष्ट पारे । 

मंसिर २७, शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन हुन गइरहेको महाधिवेशन एमाले सकियो भन्नेहरूका लागि गतिलो जवाफ हुने पनि उनको भनाइ थियो । “सबैको घर आगो लागेको, संसद् भवन, सर्वोच्च अदालत, सरकारी कार्यालय, प्रदेशका सभा भवन आदि सबै आगो लगाएको तीन महिना नपुग्दै एमालेले आफूलाई कसरी पुनर्संगठित ग¥यो भन्ने विषयले सबैलाई चकित तुल्याउनेछ,” ओलीले भने । अहिले निर्वाचन आयोगमा दर्ता भएका १४३ दलमध्ये नेपाली कांग्रेस र नेकपा एमालेसँग बाँकी १४१ दल मिलेर प्रतिस्पर्धा गर्न आउन उनले चुनौतीसमेत दिए । 

हालै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटघाटमा महत्त्वपूर्ण राजनीतिक संवाद भएको र त्यसको प्रतिफल जनताले चाँडै देख्ने पनि उनले बताए । “कतिपय कुराहरू सार्वजनिक हुन समय लाग्छ । तोरीको बीउ रोप्नेबित्तिकै मुना देखिन्छ । तर, बकुल्लाको बीउ रोपेको धेरै समयपछि मात्र अंकुराउँछ । हाम्रो वार्ताको प्रतिफल पनि बिस्तारै देखिनेछ ।” 

आफूलाई हावा भरिएको भकुन्डोसँग तुलना गर्दै अध्यक्ष ओलीले भने, “मलाई जति बेस्सरी भुइँमा पछार्ने कोसिस गरिन्छ, म त्यति नै बलले उफ्रिन्छु ।” उनको यो भनाई प्रधानमन्त्री सुशीला कार्की र उनीसँग मिल्न गएका एमालेकै केही नेताहरूको सन्दर्भमा थियो । “कार्कीजी र मेरा केही विरोधी साथीहरूको एउटै उद्देश्य छ, केपी ओलीलाई सक्काउने, जुन सम्भव छैन,” उनले भने । अहिलेको सरकारलाई घरभित्र पसेको उपद्रवी मुसासँग तुलना गर्दै ओलीले भने, “मुसा घरभित्र छिरेपछि थाङ्ना काट्न पनि सक्छ, सुटै काट्न पनि सक्छ । यो सरकार त्यस्तै हो । यसले केके गर्छ, के थाहा ?”

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  ०६:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update