Odapalika - The Fourth Estate - चौथो अंग
सरकारको चेतावनी: समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गरिन्छ

चितवन- विकास निर्माणका कामलाई प्राथमिकता नदिने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गर्ने सरकारले चेतावनी दिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले सो तर्फ सरकार लागेको बताए।

उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले तीन हजार बढी सडक तथा पुलमा ठेक्का लागेको बताए।

‘तीन हजारभन्दा बढी सडक र पुलको ठेक्का छ, कुनै ठाउँमा त ठेकेदार कहाँ छ भन्ने पनि छैन, काम गर्नुपर्छ नभए ठेक्का तोड्छौँ भन्ने अवस्थामा हामी छौँ‚’ उनले भने ।

मन्त्री तामाङले जनताले दुःख पाएको बताउँदै उहाँले जनताको आवश्यकताअनुसार सरकारले काम गर्ने बताए। विकास निर्माणसँगै नीति निर्माणमा परिवर्तन गर्न यो सरकारले खोजेको बताउँदै उनले देशलाई संस्थागत रूपमा निकास दिन जरुरी रहेको बताए।

उनले यहाँका सप्तगण्डकी नदीमा पानी भण्डारण गरी जलाशय निर्माण गरेर विद्युत् उत्पादनसँगै विभिन्न पर्यटकीय स्थलको विकास गरिने बताए। पोखरा, भरतपुर र लुम्बिनी क्षेत्रलाई इलेक्ट्रिक ग्रिन कोरिडोरका रूपमा विकास गर्ने काम अघि बढिरहेको उनले जानकारी दिए। शक्ति खोर औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिलाई सहज बनाइने उल्लेख गर्दै उनले यहाँ औद्योगिक क्षेत्र स्थापना हुनुमा आफू पनि सकारात्मक रहेको बताए।

आगामी निर्वाचनपछि आउने नयाँ सरकारले नयाँ अनुहार र नयाँ सोच ल्याउनुपर्ने उल्लेख गर्दै उनले देशलाई समृद्धिको बाटोमा हिँडाउन सक्ने शक्ति आउनु आवश्यक रहेको बताए। जनताले देशलाई ठोस परिणाम दिन सक्ने नयाँ शक्ति सचेत रूपमा छान्नुपर्नेमा उनले जोड दिए। सो अवसरमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुमनकुमार श्रेष्ठले जिल्लाका समग्र व्यवसायीको समस्याका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति: शनिबार, पुस ५, २०८२  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update