काठमाडौँ । गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि मिलन गुरुङ (चक्रे मिलन) उम्मेदवारका रूपमा सिफारिस भएका छन्।
उनले यो निर्णय आफ्नो व्यक्तिगत इच्छाभन्दा पनि आम जनसमुदाय, विशेषगरी युवा तथा जेनजी पुस्ताको निरन्तर माग र दबाबका कारण लिएको बताए ।
गुरुङका अनुसार उनी २०५० सालतिरदेखि नै नेकपा एमालेमा सक्रिय रहँदै आएका छन् र पार्टीसँग निरन्तर रूपमा आबद्ध भएर समाजसेवा र राजनीतिमा क्रियाशील छन्। समाजका विभिन्न क्षेत्रमा निरन्तर योगदान दिँदै आएको कारण गोरखाली जनताले आफूलाई जिताएर संसदमा पठाउनेमा आफू ढुक्क रहेको उनको भनाइ छ।
आफूलाई ‘गुण्डा’ जस्ता आरोप लगाएर दुःख दिने प्रयास भएको भए पनि आफू एक साधारण नागरिकका रूपमा समाजसेवा मै समर्पित रहेको उनको दाबी छ ।
‘म समाजको सेवा गर्छु भन्न पनि नपाइने अवस्था बनाइयो’, उनले गुनासो गरे।
यसैबीच, मिलन गुरुङको उम्मेदवारीबारे प्रतिक्रिया दिँदै युवा संघका केन्द्रीय सदस्य तथा गोरखाका युवा नेता प्रविण अधिकारीले भने– ‘जो कोही निस्वार्थ रूपमा राजनीति र समाजसेवाका लागि अघि बढ्छन्, त्यस्ता व्यक्तित्वलाई गोरखामा स्वागत गर्नुपर्छ । आज गोरखाका आम युवा मात्र होइन, जेनजी पुस्ताको समेत साझा उम्मेदवारका रूपमा मिलन गुरुङलाई हेरिएको छ। युवाको वास्तविक आवाज संसदसम्म पुर्याउन उनी सक्षम नेतृत्व हुन्।’
मिलन गुरुङको उम्मेदवारीले गोरखा क्षेत्र नं–२ को राजनीतिक वातावरणलाई थप चर्काएको छ। २०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् ।
भदौ २३ र २४ को जेनजी प्रदर्शनपछि बनेको शुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरी फागुन २१ गतेको लागि निर्वाचनको मिति तोकेको छ । सो निर्वाचनमा प्रचण्ड कुन क्षेत्रबाट चुनाव लड्दैछन् भन्ने यकिन छैन । किनभने प्रचण्डको खास निर्वाचन क्षेत्र छैन । यसअघि चितवनबाट चुनाव लड्ने गरेका भएपनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सो क्षेत्रबाट चुनाव लड्ने तयारी गरेपछि प्रचण्ड गोरखा–२ पुगेको थिए ।





