Odapalika - The Fourth Estate - चौथो अंग
मध्यराति अमेरिकाले आक्रमण गर्दा कस्तो महसुस गरेका थिए भेनेजुएलाका जनताले ?

एजेन्सी । अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी काराकास शान्त र सुनसान देखिएको छ । बिहान सबेरै गरिएको सैन्य कारबाहीपछि विस्फोटको गन्ध अझै शहरभर फैलिएको थियो भने त्रसित बासिन्दाहरू घटनाको असर बुझ्ने प्रयासमा देखिन्थे ।

राष्ट्रपति निकोलस मादुरोका केही सय समर्थकहरू उनको रिहाइको माग गर्दै जम्मा भए पनि त्यसबाहेक शहरका अधिकांश सडकहरू अस्वाभाविक रूपमा खाली थिए । ६० लाख जनसङ्ख्या भएको शहरकी ५८ वर्षीया बासिन्दा मारिया युजेनीय एस्कोबारले विस्फोटले निद्राबाट उछिट्टिएको अनुभव सुनाउँदै आफू भावुक भएको बताइन् ।

स्थानीय समयअनुसार बिहान करिब २ बजे दर्जनौँ विस्फोटका आवाज सुनिएको जनाइएको छ । सुरुमा केहीले आतसबाजी ठानेका ती आवाजले झ्यालहरू हल्लिएका थिए र सैनिक विमानहरू घरमाथि उडिरहेका देखिएका थिए । काराकासको प्रमुख सैनिक केन्द्र नजिकको कोचे क्षेत्रमा बस्ने एक बासिन्दाले विमानको आवाज अत्यन्त डर लाग्दो भएको बताए ।

शहरका विभिन्न भागबाट धुवाँका मुस्ला उठेको देखिएको थियो भने वातावरण कुहिरोजस्तै धुवाँले ढाकिएको थियो । प्रत्यक्षदर्शीहरूले विमानस्थल र बन्दरगाह रहेको ला ग्वाइरा, पश्चिमतर्फको मराकाय तथा पूर्वतर्फको हिगुएरोते क्षेत्रमा पनि बमबारी भएको बताएका छन् ।

आक्रमणपछि मादुरोलाई अमेरिकी विशेष फौजले नियन्त्रणमा लिई न्युयोर्क लगिएको खबर बाहिरिएपछि समर्थकहरू राजधानीमा भेला भएर नाराबाजी गर्न थाले । विश्वविद्यालय प्राध्यापक कातिया ब्रिसेञोले विदेशी सरकारले आएर राष्ट्रपति हटाउनु अस्वीकार्य भएको बताउँदै आक्रोश व्यक्त गरे ।

प्रदर्शनकारी बाहेक शहरमा सर्वसाधारणको आवतजावत निकै कम देखिन्थ्यो । कालो पोशाकधारी सुरक्षाकर्मीहरू हतियारसहित केन्द्रिय क्षेत्रमा गस्ती गरिरहेका थिए । धेरै पसलहरू बन्द थिए भने केही खुलेका पसलमा सीमित सङ्ख्यामा मात्र ग्राहकलाई प्रवेश दिइएको थियो ।

विस्फोटबाट भएको क्षति मुख्यतया सैनिक संरचनामा सीमित रहेको जनाइएको छ । रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले आवासीय क्षेत्रमा पनि आक्रमण भएको आरोप लगाएका छन् ।

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update