काठमाडौं । नेपाली नागरिकहरूले अमेरिकाको बी–१/बी–२ भिसा आवेदन दिँदा अब ‘भिसा बन्ड’ राख्नुपर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले मंगलबार जारी गरेको भिसा नियमको अपडेटअनुसार नेपालीहरूलाई पनि ‘भिसा बन्ड’ राख्नुपर्ने देशहरूको सूचीमा समावेश गरिएको हो ।
अमेरिकामा पछिल्लो समय भिसा ओभर स्टे दरहरू बढ्दै गएपछि अमेरिकाले भिसा नियममा व्यापक कडाइ गर्दै यो नयाँ व्यवस्था लागू गरेको बताइएको छ ।
अमेरिकाको गृह सुरक्षा विभागको बी–१/बी–२ ओभर स्टे प्रतिवेदनले बढ्दै गएको बताएको छ ।
यो व्यवस्था अमेरिकाको ‘इमिग्रेसन एन्ड नेशनलिटी एक्ट’ को २२१(जी)(३) अन्तर्गतको अस्थायी अन्तिम नियम (टीएफआर) मा उल्लेख गरिएको छ, जसलाई पाइलट कार्यक्रमका रूपमा स्थापना गरिएको बताइएको छ ।
जारी गरिएको नयाँ नियमअनुसार बी–१/बी–२ भिसाका लागि योग्य ठहरिएका नेपाली पासपोर्ट बाहकहरूले आवेदनसँगै पाँच हजार, १० हजार वा १५ हजार अमेरिकी डलर बराबरको बन्ड बुझाउनुपर्नेछ ।
तर बन्डको रकम भने भिसा अन्तर्वार्ताका क्रममा निर्धारण हुने बताइएको छ ।
आवेदकले कन्सुलर अधिकारीको निर्देशनअनुसार मात्र डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको आई–३५२ फारम पेश गरी पे डट जीओभीमार्फत् बन्ड तिर्नुपर्नेछ । पे डट जीओभिको लिङ्क कन्सुलर अधिकारीले उपलब्ध गराउनेछन् ।
अमेरिकी सरकार यस्ता भुक्तानीका भिसा प्राप्त गर्न जिम्मेवार नहुने स्पष्ट गरिएको छ ।
यसैगरी, बन्डका सर्तअनुसार यस्ता भिसाबाहक (पर्यटक र व्यापारी) हरूले अमेरिकाका निश्चित तोकिएका एयरपोर्ट (प्रवेश बिन्दुहरू) बाट मात्र अमेरिका प्रवेश वा फिर्ती गर्न पाउने बताइएको छ ।
यसका लागि बोस्टन लोगान अन्तर्राष्ट्रिय विमानस्थल, जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थल र वाशिङ्टन डुलेस अन्तर्राष्ट्रिय विमानस्थल तोकिएका छन् । भिसाको शर्त उल्लंघन नगरेमा र तोकिएकै तीनवटा विमानस्थलबाट बाहिरिएको रेकर्ड देखिएमामात्र धरौटी रकम फिर्ता हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
अमेरिका प्रवेश नगरेको खण्डमा, वा भिसाको अवधि सकिनुभन्दा अघि अमेरिका छोडेमा बन्डको रकम स्वतः फिर्ता हुने बताइएको छ ।
तर तोकिएको मितिपछि अमेरिका छोडेमा, अधिकृत मितिपछि अमेरिकामा बसिरहने वा गैर–आप्रवासी स्थिति परिवर्तनका लागि आवेदन दिएमा (असाइलम दाबी गरेमा) उक्त धरौटी रकम जफत हुने नयाँ नियम रहेको र बन्ड उल्लङ्घन भएको मानिने बताइएको छ ।





