Odapalika - The Fourth Estate - चौथो अंग
कांग्रेस विशेष महाधिवेशन विवादः काउन्टर रणनीति बनाउन संस्थापन पक्षको बैठक भोलि

 

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले शुक्रबार बिहान बस्नेगरी केन्द्रीय सदस्यहरूको भेला गर्ने भएको छ ।

सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि संस्थापन पक्षले केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेको हो। 

सभापति देउवासँगको छलफलमा सहभागी एक केन्द्रीय सदस्यले शुक्रबार बिहान साढे १० बजे नयाँ बानेश्वरमा भेला आयोजना गरिएको जानकारी दिए । उनले भेलामा संस्थापन पक्षमा रहेका शीर्ष नेताहरूलाई भने नबोलाइएको बताए । 

छलफल आन्दभूमि पार्टी प्यालेसमा बस्ने ती नेताले जानकारी दिए। उनले विशेष महाधिवेशनलाई कसरी काउन्टर दिने भन्ने विषयमा छलफल हुने पनि बताए।

२७ गते युवा, २८ गते जिल्ला सभापतिहरूको भेला 

पुस २७ र २८ गते हुने विशेष महाधिवेशनलाई काउन्टर दिन संस्थापन समूहले पार्टी कार्यालयमा कार्यक्रम गर्ने भएको छ।

सभापति देउवा निवासमा संस्थापन समूहका शिर्ष नेताहरूको बैठकले काउन्टर कार्यक्रम गर्ने निर्णय गरेको हो। बैठकमा सभापति देउवा तथा नेताहरू बालकृष्ण खाण, एनपी साउद, जितजंग बस्नेतसहित नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, महिला संघ अध्यक्ष उषा राउत, तरूण दल अध्यक्ष विद्वान गुरूङलगायतको सहभागिता थियो।

बैठकमा सहभागी एक नेताले दिएको जानकारी अनुसार पुस २७ मा पार्टी अफिसमा तरूण दलले युवा भेला गर्ने निर्णय भएको छ। जसको संयोजन अध्यक्ष विद्वान गुरूङले गर्ने छन्। यस्तै २८ पुसमा जिल्ला सभापतिहरूको भेला गर्ने तयारी छ । जसको समन्वय केन्द्रीय सदस्य जितजंग बस्नेत र भक्तपुर सभापति दुर्लभ थापालाई दिइएको छ । 

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा २७ र २८ पुसमा कांग्रेसभित्र विशेष महाधिवेशनको तयारी छ। जसलाई काउन्टर दिन संस्थापन पक्षले पनि विशेष तयारी गरेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update