काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन भएको छ ।
काठमाडौँको भृकुटीमण्डपमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन उद्घाटन गरेका हुन् ।
उद्घाटनका लागि पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ल्याउन विशेष महाधिवेशन पक्षधरले गरेको प्रयास सफल नभएपछि महामन्त्रीद्वयले उद्घाटन गरेका हुन् ।
उद्घाटनमा महामन्त्री गगन थापाले पानसमा बत्ती बालेका थिए भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले रुखको विरुवामा पानी हालेका थिए ।
कांग्रेसको विशेष महाधिवेशनको लागि देशभरबाट महाधिवेशन प्रतिनिधिहरु आएका छन् । यद्यपि, सो विशेष महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता शेखर कोइराला लगायत सहभागी भएका छैनन् । सो विशेष महाधिवेशनमा पार्टीको संथपन पक्ष सहभागी नभएपनि देशभरबाट ठूलो संख्यामा कांग्रेस कार्यकर्ता सहभागी भएका छन् ।







