काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेनमा राजनीतिक प्रस्ताव पेश गरेका छन् । उनले पेश गरेको प्रस्ताव पारित भएको आयोजकले जानकारी दिएका छन् ।
महामन्त्री शर्माको प्रतिवेदनमा प्रधानमन्त्रीमा दुई कार्यकालको सीमा राख्न प्रस्ताव गरिएको छ ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्द सत्रमा उनले कुनै पनि पार्टीको तर्फबाट एउटै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने नीति लिन प्रस्ताव गरेका हुन्।
यसलाई संविधानमै राख्न पहल गरिने प्रस्तावमा उल्लेख छ। शर्माले विशेष महाधिवेशनमा पेश गरेको दस्ताबेजमा चुनाव हुने र नयाँ सरकार बन्ने गरे पनि प्रधानमन्त्री भने पुरानै अनुहार दोहोरिने अभ्यास भएको र त्यसले नागरिकमा चरम असन्तुष्टि बढेको भनिएको छ। जसका कारण नेतृत्व अलोकप्रिय बन्ने र सरकारले सार्थक परिणाम दिन नसकेको औल्याइएको छ ।
विगतको यही गल्तीलाई सच्याउन नेपाली कांग्रेसले भविष्यमा आफ्नो तर्फबाट कोही पनि व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री नबन्ने व्यवस्था राख्न प्रस्ताव गरिएको हो ।
प्रस्तावमा नातावादको अन्त्य गर्न एकै परिवारको सदस्य श्रीमान/श्रीमती, एकैपटक एउटै तहको जनप्रतिनिधि बन्ने प्रथाको अन्त्य गरिने उल्लेख छ।
शर्माले राखेको प्रतिवेदनमा पार्टी उम्मेदवार छनोटका लागि क्रमशः प्राइमरी निर्वाचनको अभ्यास गर्न प्रस्ताव गरिएको छ। आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने पनि उनको प्रस्तावमा उल्लेख छ।
राजनीतिक नियुक्तिहरूमा इमानदारीता र योग्यता प्रणाली लागु गर्ने उनको प्रतिवेदनमा समेटिएको छ। पार्टीको सम्पूर्ण ध्यान सद्भाव, सुशासन र समुन्नति स्थापनामा केन्द्रीत गर्ने उल्लेख छ।
शर्माले राखेको प्रस्तावमा ४० वर्ष मुनिका युवाहरूलाई पार्टीका विभिन्न तहमा प्रतिनिधित्व गराउन प्रस्ताव गरिएको छ।
जस अनुसार केन्द्रीय कार्यसमितिको केन्द्रीय तहमा ३० वर्ष मुनिका २० जना र ३० देखि ४० वर्ष सम्मका २० जना गरी कुल ४० जना युवाहरूको प्रतिनिधित्व सुनिश्चित गरिने प्रस्ताव छ।







