काठमाडौँ । नेपाली कांग्रेसभित्रको विवाद साम्य हुने दिशातर्फ प्रवेश गरेको छ । महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको असन्तुष्ट समुहलाई उचित भाग दिन संस्थापन पक्ष तयार भएपछि विवाद साम्य हुन लागेको हो ।
विवाद बढ्दै गएपछि महामन्त्रीद्वयले विषेश महाधिवेशन आव्हान गरेका छन् । सो विषेश महाधिवेशनमा ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी भएको तथ्य सार्वजनिक भएपछि संस्थापन पनि शक्ति बाँडफाँडमा तयार भएको हो ।
शक्ति बाँडफाँडको लागि दुबै पक्षले वार्ता टोली नै गठन गरेर वार्ता गरेका छन् । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले प्रतिनिधि सभाको निर्वाचनमा ४० प्रतिशत सिट आफ्नो पक्षलाई दिनुपर्ने माग राखेका छन्।
संस्थापन र विशेष महाधिवेशन पक्षबीच पहिलो चरणको वार्ता सकिएको छ।
भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्द सत्र जारी रहँदा लाजिम्पाटको एउटा घरमा संस्थापन र विशेष महाधिवेशन पक्षका नेताहरूबीच बिहानदेखि वार्ता चलेको थियो ।
यस्तै, विशेष महाधिवेशन पक्षले पूर्णबहादुर खड्कालाई जेठसम्म कार्यवाहक दिनुपर्ने, सभापति देउवाको हस्ताक्षर नचल्ने र उनी चुनाव पनि नलड्ने अडान विशेष पक्षको छ। साथै विशेष महाधिवेशनलाई पार्टीले स्वीकार गर्दै त्यहाँबाट पारित दस्तावेज कार्यान्वयन गर्नुपर्ने अडान विशेष पक्षको थियो।
त्यसमा संस्थापन पक्षले खासै जबाफ नदिएको नेताहरुले बताएका छन् ।
अहिले पहिलो चरणको वार्ता सकिएको र केही समयमै अर्को चरण सुरू हुने बताइएको छ ।
छलफलमा विशेष महाधिवेशन पक्षबाट केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरूराज घिमिरे सहभागी छन्।
देउवा पक्षबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का र बालकृष्ण खाण तथा शेखर कोइराला पक्षका बद्री पाण्डे र जीवन परियार सहभागी छन्।
भृकुटीमण्डपको विशेष महाधिवेशनमा अहिले बन्द सत्र जारी छ। महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा ९ वटा समितिमा छलफल गरी अहिले समूहको निष्कर्ष सुनाइरहेका छन्।
बन्द सत्रले पार्टीको पुरानो निर्वाचन समिति भंग गरी पाँच सदस्यीय नयाँ निर्वाचन समिति गठन गरेको छ।






