Odapalika - The Fourth Estate - चौथो अंग
कांग्रेस संकटः सानेपा कुर्दै भृकुटीमण्डप, भृकुटीमण्डप कुर्दै सानेपा

काठमाडौँ । नेपाली कांग्रेस भित्रको संकट फुटको संघारमा पुगेपछि दुबै पक्ष प्रतिकारको मुडमा देखिएको छ ।

संस्थापन पक्ष विशेष महाधिवेशन पक्षले के गर्छ भनेर पर्खिरहेको छ भने विशेष महाधिवेशन पक्ष पहिला संस्थापन पक्षले निर्णय गरोस भनेर प्रतिक्षा गर्न लागेको छ ।

महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माको आव्हानमा भएको विशेष महाधिवेशनमा अहिले बन्दशत्र चलिरहेको छ । सो महाधिवेशनमा १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति विघटन गरिएको छ भने नयाँ कार्यसमिति निर्वाचनको लागि उम्मेदवारी दर्ताको प्रक्रिया सुरु गरिएको छ ।

यता सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितको संस्थापन पक्ष भने केन्द्रीय समिति बैठकको लागि केन्द्रीय सदस्यहरुलाई पार्टी कार्यालय सानेपा डाकेर बसेको छ । यद्यपि, केन्द्रीय समिति बैठक भने सुरु भएको छैन । 

विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरे महामन्त्रीद्वयलाई पार्टीबाटै निष्कासन गर्ने तयारीका लागि संस्थापन पक्षले केन्द्रीय समिति बैठक राख्न केन्द्रीय सदस्यहरुलाई सानेपा बोलाएको हो । संस्थापन पक्षले महामन्त्रीहरुलाई कारवाही गर्ने संकेत पाएपछि विशेष महाधिवेशन पक्ष पनि पहिला संस्थापन पक्षले कारवाही गरोस् अनि नयाँ नेतृत्व चयन गरौंला भनेर प्रतिक्षा गरिरहेको नेताहरुले बताएका छन् ।

आज विशेष महाधिवेशनमा निर्वाचनका सबै प्रक्रिया स्थगन भए केन्द्रीय कार्यसमिति बैठक पनि नबस्ने एक केन्द्रीय सदस्यले बताए । यता विशेष महाधिवेशनमा साढे ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारी दर्ता गर्ने र निर्वाचन भने भोलि विहानदेखि सुरु गर्ने गरी तयारी गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  १८:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update