काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक विवाद पार्टी विभाजनको संघारमा पुगेको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आव्हान गरेको विशेष महाधिवशेनले देउवा नेतृत्वको कार्य समिति विघटन गरिसकेको छ भने नयाँ नेतृत्व निर्वाचनको प्रक्रिया सुरु गरेको छ । यस्तै, संस्थापन पक्षले पनि महामन्त्रीद्वयलाई कारवाही गर्न पार्टी केन्द्रय कार्यसमिति बैठक आव्हान गरेको छ ।
यसैबीच विवाद मिलाउन भन्दै सभापति देउवा र दूई महामन्त्रीबीच आज (बुधबार) विहान देउवा निवासमा करिब १ घण्टा छलफल चलेको थियो ।
सो छलफलमा महामन्त्रीहरुले सभापति देउवालाई राजीनामा दिन भनेका थिए । सभापति देउवाले राजीनामा दिएमा अहिले चलिरहेको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्न विधानसम्मत बाटो खुल्ला हुन्छ ।
तर, सभापति देउवाले राजीनामा दिन तयार भएनन् । आफूले कार्यवाहक जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिइसकेकोले नियमित महाधिवेशनबाट आफू स्वतः हट्ने देउवाले दोहोर्याएका थिए । यही अडानका कारण वार्ता सहमतिविना नै सकिएको हो ।
महामन्त्रीहरुले सभापति देउवाले अझ असहिष्णु र हेपाहा व्यवहार गरेको बताएका छन् । विशेष महाधिवेशन पक्षको मिडिया सेन्टरले दिएको जानकारी अनुसार यसैकारण सहमति जुट्न नसकेको हो ।
‘देउवा निवासमा भएको वार्ता सहमति बिना टुङ्गिएको छ । वार्ताका क्रममा सभापति देउवाले अझ असहिष्णु र हेपाहा व्यवहार गरेपछि सहमति नजुटेको हो,’ विशेष महाधिवेशन पक्षधरको मिडिया सेन्टरले दिएको जानकारीमा उल्लेख छ ।
वार्ताका क्रममा प्रकाश शरण महत मिनेन्द्र रिजाल लगायतका नेता सभापति देउवाको पक्षबाट बसेका थिए । अब विशेष महाधिवेशनमा निर्वाचनको प्रक्रिया तीव्र रुपमा अगाडि बढ्ने विशेष महाधिवेशन पक्षले जानकारी दिएको छ ।







