काठमाडौँ । आफूले आव्हान गरेको विशेष महाधिवेशनमा नेपाली कांग्रेृसका महामन्त्री गगन थापाले सभापति पदमा उम्मेदवारी दर्ता गरेका छन् ।
पुस २७ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा सभापति पदमा महामन्त्री थापाको मात्रै उम्मेदवारी परेको हो ।
यस्तै, अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको छ ।
बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले वार्ता गरेका थिए । तर वार्ता सफल भएन ।
सबै पदाधिकारीका लागि मनोनयन दर्ता भए पनि दुई महामन्त्री थापा र शर्मा अहिले कानुन विद्हरूसँगको परामर्शमा छन् ।
निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार उम्मेदवार मनोनयन दर्ताको समय सकियो र दिउँसो १ बजे नामावली सार्वजनिक गरिने छ ।







