काठमाडौँ । नेपाली कांग्रेस संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई ५ वर्षको लागि कारवाही गरेको छ ।
लगातार सहमतिका लागि लचकता प्रदर्शन गर्दागर्दै पनि नेपाली कांग्रेसको नेतृत्वले महामन्त्रीद्वय थापा र शर्मा लगायतलाई कारबाही गरेको हाे ।
आज बजेको केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न आरोप लगाउँदै उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो।
केन्द्रीय समितिको निर्णय विपरीत विशेष महाधिवेशन बोलाएको लगायतका आरोप लगाउँदै कारबाही गरिएको केन्द्रीय कार्यालयले जनाएको छ।
वार्ताका लागि पटकपटक लचकता प्रदर्शन गर्ने र पार्टी एकताका लागि अन्तिमसम्म प्रतिक्षा गरिरहँदा पनि सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले कारबाही गरेपछि विशेष महाधिवेशन पक्षधर नयाँ कार्यसमिति गठन गर्ने बाध्यकारी अवस्थामा पुगेकाे बताएका छन्।
देशभरिबाट आएका ६३ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले नयाँ नेतृत्व चयन गर्नुपर्ने दबाब दिइरहे पनि महामन्त्रीद्वय थापा र शर्मा वार्तामा सहभागी हुँदै आएका थिए ।
वार्तालाई वेवास्ता गर्दै देउवा पक्षले असहिष्णु व्यवहार गरेपछि विशेष महाधिवेशन पक्षधरले नयाँ कार्यसमिति गठन गर्ने तयारी गरेको उनीहरूकाे भनाइ छ।
काठमाडौँको भृकुटीमण्डपमा पुस २७ गतेदेखि भइरहेको विशेष महाधिवेशन अन्तर्गत अहिले सर्वसम्मत नयाँ कार्यसमिति गठन गर्ने गृहकार्य भएको छ ।





