काठमाडौँ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि माघ ६ गते (भोलि) उम्मेदवारी दर्ताको कार्यक्रम छ ।
प्रतिनिधिसभा निर्वाचनको लागि संघ, प्रदेश र स्थानीय सरकारका पदाधिकारीले राजीनामा दिएर उम्मेदवारी दर्ता गर्न लागेका छन् । यसरी राजीनामा दिएर संसाद बन्न लागेकामा स्थानीय सरकारका वडासदस्यदेखि संघ सरकारका वहालवाला मन्त्रीसम्म छन् ।
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिएर निर्वाचनको तयारी गरेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएपछि मन्त्री गुप्ताले पदबाट राजीनामा दिएका हुन् । उनले इमेलमार्फत राजीनामा पठाएको बताएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बा उम्मेदवार बन्न लागेका हुन् ।
लुम्बिनी प्रदेशसभा सदस्य कन्हैया बनियाँले पदबाट राजीनामा गरेका छन् । २०७९ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नं ४ (१) मा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालबाट प्रदेशसभा सदस्यमा निर्वाचित बनियाँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही–४ बाट उम्मेदवारी दिने तयारी गरेका छन् ।
यस्तै, बागमती प्रदेशसभा सदस्य युवराज दुलाल (शरद) ले पनि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा सदस्य पदका लागि सिन्धुपाल्चौक क्षेत्र नं २ मा प्रत्यक्षतर्फ टिकट दिएपछि दुलालले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका हुन् ।
उनी गत २०७९ सालको प्रदेशसभा सदस्यमा सिन्धुपाल्चौक क्षेत्र नं २ (ख) बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य डा तारा जोशीले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन् ।
डडेल्धुरा प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेशसभामा विजयी भएका डा जोशीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डडेल्धुराबाट प्रतिनिधिसभाको उम्मेदवार बनाएपछि उनले राजीनामा दिएका हुन् ।
पछिल्लो समय उज्यालो नेपाल पार्टीमा जोडिएका डा जोशी रास्वपासँगको एकता टुटेपछि पनि एकताको पक्षमा उभिँदै रास्वपामै थिए ।
मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् ।
जनमत पार्टीबाट सप्तरीको प्रदेशसभा निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित सिंहले माघ ४ देखि लागू हुनेगरी राजीनामा दिएका हुन् । उनी पनि प्रतिनिधिसभा निर्वाचनको तयारीमा छन् ।
यस्तै, मधेश प्रदेशका अर्का पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले पनि राजीनामा गरेका छन् । उनी प्रतिनिधिसभा निर्वाचनको लागि महोत्तरी ४ बाट उम्मेदवार बन्न लागेका छन् ।
मधेश प्रदेशको प्रदेशसभा सदस्य रहबर अन्सारीले पनि राजीनामा गरेका छन् । तत्कालिन माओवादी केन्द्रबाट निर्वाचित अन्सारी रास्वपा प्रवेश गरी प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
बागमती प्रदेशसभा सदस्य अमनकुमार मास्केले पनि पदबाट राजीनामा गरेका छन् । उनी काठमाडौँ– ६ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदबार बन्न लागेका हुन् ।
यस्तै, बागमती प्रदेशसभाका पूर्वसभामुख भुवनकुमार पाठकले पनि राजीनामा गरेका छन् । उनी काठमाडौं–४ बाट उम्मेदवार बन्न लागेका हुन् ।
सुदुरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर शाहले पनि पदबाट राजीनामा गरेका छन् । उनी बाजुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न लागेका छन् ।
लुम्बिनी प्रदेशका पूर्वमन्त्री समेत रहेका लुम्बिनी प्रदेशसभाका सदस्य कृष्णध्वज खड्काले पनि राजीनामा गरेका छन् । उनी प्युठानबाट उम्मेदवार बन्न लागेका हुन् ।
काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले पनि राजीनामा गरेका छन् । उनी झापा–५ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बन्दैछन् । सो क्षेत्रबाट एमाले अध्यक्ष केपी शर्मा ओली पनि चुनावी प्रतिस्पर्धामा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले बालेनलाई आगामी सरकारको प्रधानमन्त्रीको उम्मेदवार तोकेको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि पदबाट राजीनामा गरेका छन् । उनले आफ्नै अध्यक्षतामा श्रम संस्कृति पार्टी स्थापना गरी चुनावी प्रतिस्पर्धा सुरु गरेका छन् । उनी पनि आगामी सरकारको प्रधानमन्त्री घोषणा सहित सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा चुनावी प्रतिस्पर्धामा छन् ।
भरतपुर महानगरकी मेयर रेणु दाहालले पनि राजीनामा गरेकी छन् । उनी प्रतिनिधिसभाको लागि चितवन–३ बाट उम्मेदवार बन्ने तयारीमा छन् ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले पनि राजीनामा गरेका छन् । उनी प्रतिनिधिसभाको आगामी निर्वाचनमा स्याङ्जा–२ बाट उम्मेदवार बन्न लागेका हुन् ।
कैलालीको टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारुले पनि पदबाट राजीनामा गरेका छन् । उनी प्रतिनिधिसभा निर्वाचनमा कैलाली–१ बाट उम्मेदवार बन्ने तयारीमा छन् ।
ओखलढुंगाको लिखु गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापाले पनि पदबाट राजीनामा गरेकी छन् । उनी एमालेबाट ओखलढुंगाको प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनेकी छन् ।
धरान उपमहानगरपालिकाको वडा नं. १७ का वडाध्यक्ष मनोज भट्टराईले पनि राजीनामा गरेका छन् । उनी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–१ बाट उम्मेदवार बन्ने तयारीमा छन् ।
बीरगञ्ज महानगरपालिकाको वडा नं. १० का वडाध्यक्ष सुनिलकुमार कानुले पनि पदबाट राजीनामा गरेका छन् । उनी रास्वपाको तर्फबाट पर्सा–२ को उम्मेदवार बन्ने तयारीमा छन् ।
फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बारा कलैया उपमहानगरपालिका– १ का वडा सदस्यले राजीनामा दिएका छन् ।
सर्वेन्द्र खनाल नेतृत्वको समुन्नत नेपाल पार्टीबाट चुनाव लड्न वडा सदस्य शशी दासले राजीनामा दिएका हुन् । बारा क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारी गरेका दासले नगर प्रमुख विनोद साहलाई सोमबार राजीनामा बुझाएका छन् । दास समुन्नत पार्टीका केन्द्रीय सदस्य हुन् । उनी २०७९ सालको निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।







