काठमाडौं । डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति भएपछिको एक वर्षमा अमेरिकाले ५ सय ८३ नेपालीलाई डिपोर्ट (निष्कासन) गरेको छ ।
डोनाल्ड ट्रम्पले सन् २०२५ जनवरी २० मा दोस्रो पटक अमेरिकी राष्ट्रपतिको शपथ लिएका थिए । सन् २०२५ जनवरी २० देखि २०२६ जनवरी २० सम्मको एक वर्षको अवधिमा अमेरिकाले ५ सय ८३ जना नेपालीलाई विभिन्न आरोप लगाई डिपोर्ट गरेको हो ।
“डोनाल्ड ट्रम्पले दोस्रो पटक अमेरिकी राष्ट्रपतिको शपथ लिएयताको एक वर्षमा अमेरिकाबाट झण्डै ६ सय नेपाली डिपोर्ट भई काठमाडौं पठाइएको छ । धेरैजसोलाई चाटर्ड विमानमा राखी पठाइएको छ,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत अनुज भण्डारीले भने ।
भण्डारीका अनुसार गत सोमबार (माघ ५ गते) मात्र एकैदिन अमेरिकाले डिपोर्ट गरेका ९१ जना नेपाली काठमाडौं आइपुगेका थिए । यसअघि अमेरिकाले एकैदिन यति ठूलो संख्यामा नेपालीलाई डिपोर्ट गरेको थिएन । उनीहरूलाई चाटर्ड विमानमा राखेर अमेरिकाले काठमाडौं पठाएको थियो ।
यसअघि अमेरिकाले डिपोर्ट गरी पठाएका ७५ जना नेपाली पुस ३ गते काठमाडौं आइपुगेका थिए । उनीहरूलाई पनि अमेरिकाले चाटर्ड विमानमा राखी पठाएको थियो ।
०८२ भदौ १९ गते अमेरिकाले यसैगरी एकैदिन ठूलो संख्यामा नेपालीलाई डिपोर्ट गरेको थियो । सो दिन अमेरिकाले चाटर्ड विमान राखेर ३७ जना नेपालीलाई पठाएको थियो ।
अमेरिकाले ०८२ जेठ २५ गते पनि एकसाथ डिपोर्ट गरी पठाएका ३७ जना नेपाली काठमाडौं आइपुगेका थिए । उनीहरूलाई पनि अमेरिकाले चाटर्ड विमानमा नेपाल पठाएको थियो ।
अमेरिकामा बस्नका लागि कानुनी आधार स्थापित नगर्ने नेपाली नागरिकहरू डिपोर्ट गरिएको अमेरिकाले जनाउँदै आएको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासले डिपोर्ट भएकाहरू काठमाडौं आउनु केही दिनअघि त्यसबारे अध्यागमन विभागलाई जानकारी दिने गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि उनीहरूलाई नेपाल प्रहरीलाई बुझाउने गरिएको छ ।
प्रायः अवैध बाटो अमेरिका गएकाहरू डिपोर्टमा पर्ने गरेका छन् । यसैकारण उनीहरूलाई प्रहरीले आवश्यक सोधपुछ गर्ने गरेको छ । खासगरी उनीहरूलाई अमेरिका पठाउने (मानव तस्कर) का बारेमा उनीहरूसँग सूचना लिने काम प्रहरीले गर्छ ।
अवैध तरिका र बाटोबाट अमेरिका प्रवेश गरेको, गलत मनसायले अमेरिकामा बसेको र बिनाभिसा बसेको जस्ता आरोप डिपोर्ट भएकाहरूमाथि अमेरिकाले लगाएको छ ।
ट्रम्पले राष्ट्रपति निर्वाचन अभियानकै क्रममा आप्रवासीमाथि कडाइ गर्ने घोषणा गरेका थिए । निर्वाचित भएपछि राष्ट्रपतिको शपथ लिएलगत्तै उनले अवैध आप्रवासीलाई निष्कासन गर्नेसम्बन्धी एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
त्यसपछि ट्रम्प प्रशासनले निष्कासित गर्ने एक हजार ३६५ नेपालीसहित १४ लाख ४५ हजार ५४९ जना आप्रवासीको सूची सार्वजनिक गरेको थियो । उनीहरू सबैमाथि अवैध तरिकाले अमेरिकामा बसोबास गरेको आरोप लगाइएको थियो । सन् २०२४ मा अमेरिकाले मात्र ३५ जना नेपालीलाई डिपोर्ट गरेको थियो । ट्रम्प दोस्रो पटक राष्ट्रपति भएपछि डिपोर्ट हुने नेपालीको संख्या बढेको छ ।







