काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै संगठित सदस्यलाई एक पत्र लेखेका छन् ।
अध्यक्ष ओलीले हिजो साँझ पार्टीलाई ६ लाख ६३ हजार सदस्यलाई नै पत्र पठाउँदै प्रतिनिधिसभामा एमालेका उम्मेद्वारहरुलाई विजयी गराउन आग्रह गरेका हुन् ।
पत्रमा अध्यक्ष ओलीले आसन्न निर्वाचनले देशलाई विनाशतर्फ धेकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्ने बीचको हार जितको फैसला गर्ने उल्लेख छ । उनले देश निर्माणका लागि एमालेलाई बहुमतको आवश्यकता रहेको पत्रमा उल्लेख गरेका छन् ।
‘देश निमाणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ’ अध्यक्ष ओलीले पत्रमा भनेका छन्, ‘अतः बहुमतका लागि अपरिहार्य पार्टीका उम्मेद्वारहरुको विजय सुनिश्चित गर्न कमरेडहरुको उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गरेको छु । ’
पार्टीको प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार सबै पार्टी सदस्यहरुलाई निर्वाचन प्रचारमा सक्रियतापूर्वक लाग्नका लागि उत्साहित बनाउन अध्यक्ष ओलीले पत्र लेखेका हुन् । निर्वाचन फागुन २१ मा हुँदैछ ।







