Odapalika - The Fourth Estate - चौथो अंग
दलहरुले घोषणापत्र लेखन कहाँ पुर्‍याए, कहिले हुन्छ सार्वजनिक ?

काठमाडौँ । प्रमुख राजनीतिक दलहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा आआफ्नो दलबाट जारी गर्ने घोषणापत्र लेखनको काम अन्तिम चरणमा पुगेको बताएका छन् । 

पार्टी नेताहरूका अनुसार निर्वाचनका क्रममा जनतासामु मत माग्न जाँदा चुनावी घोषणापत्र बनाउने र मतपरिणामपछि चुनावी वाचा सक्दो कार्यान्वयन गर्ने अभ्यास रहिआएका सन्दर्भमा आसन्न निर्वाचनअघि घोषणापत्र तयारीको काम अन्तिम चरणमा पुगेको हो । 

विशेषगरी प्रजातन्त्र पुनःस्थापनापछि मुलुकमा भएका संसदीय निर्वाचनअघि सार्वजनिक घोषणापत्रलाई शासनसत्तामा पुगेका राजनीतिक दलहरूले नै प्राथमिकता नदिएको भन्ने गुनासो जनताका तर्फबाट सुनिँदै आएको छ । 

घोषणापत्रमा समेटिएका विषयवस्तु कार्यान्वयन गर्ने सम्बन्धमा भने कानुनी बाध्यता नभएकाले कार्यान्यवन पक्ष सधैँ फितलो हुने गरेको आमजनताको गुनासो छ । यद्यपि, साक्षर मतदाताले मत दिँदा घोषणापत्रमा उल्लेख भएका विषयवस्तु हेर्ने, तुलना गर्ने र विश्लेषणका आधारमा मत दिने गरेको देखिन्छ । 

प्रायः दलहरुले घोषणापत्र आन्तरिक रुपमा तयारी गरिसकेको भए पनि प्रतिस्पर्धी अन्य दलका घोषणा सार्वजनिक भएपछि अध्ययन गरी त्यसका आधारमा अन्तिम रुप दिने सोचमा रहेका देखिन्छन् ।

विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा नै समिति गठन गरेर घोषणापत्र तयारी गरिरहेको जनाएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले घोषणापत्र तयारीका लागि देशभरका  नेताकार्यकर्ता र शुभेच्छुकहरूबाट सुझाव सङ्कलन गरिरहेको जानकारी दिँदै पार्टीका तर्फबाट जारी हुने घोषणापत्र यथासक्य छिटो विशेष कार्यक्रमका साथ सार्वजनिक गरिने  बताए ।

‘हाम्रो घोषणापत्रमा जेनजी आन्दोलनमा उठेका सुशासन, सहज सेवाप्रवाहलगायत माग समावेश गरिने छन् । एउटा मुख्य घोषणापत्र हुन्छ, बाँकी पार्टीका उम्मेदवारले आआफ्नो निर्वाचन क्षेत्रमा गर्ने काम र योजनाअनुसार छुट्टै घोषणा पत्र बनाउनुहुन्छ,’ उनले भने ।

घोषण पत्रमार्फत राजनीतिक दलले विकास निर्माण सुशासनलगायतका राष्ट्रिय दृष्टिकोण प्रस्तुत गर्छन् भने जिल्ला र निर्वाचन क्षेत्र तहमा स्थानीय आवश्यकता र महत्वका आधारमा उम्मेदवार स्वयंले प्रतिबद्धता जनाउने अभ्यास रहिआएको छ ।  

अर्को प्रमुख दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पनि चुनावी घोषणापत्र तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले जानकारी दिए ।

‘अध्यक्ष ओली झापाबाट फर्किनुभएको छ, अब चाँडै बैठक बसेर घोषणापत्रको काम अघि बढाउँछौँ । वर्तमान अवस्थामा मुलुक बनाउने विषय नै घोषणापत्रको प्राथमिकतामा हुनेछ । साथै जनजिविकाको सवाल, आर्थिक पुनरुत्थान, राष्ट्रिय स्वाभिमान र समावेशी विकासका विषय घोषणापत्रमा समेटिने छन्,’ शाहीले भने ।

त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा घोषणापत्र लेखन कमिटी गठन गरेको जनाएको छ । नेकपाका नेता अग्निप्रसाद सापकोटाले चुनावी घोषणापत्र तयारीको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै यथासक्य छिटो घोषणापत्र सार्वजनिक गरिने बताए ।

‘मुलुकको पछिल्लो राजनीतिक अवस्था जेनजी आन्दोलनको समीक्षा र रुपान्तरणका विषयवस्तु घोषणापत्रमा समेटिने छन् । वस्तुवादी, यथार्थपरक विकास निर्माणका प्रतिबद्धता तथा राजनीतिक र संरचनागत रुपान्तरणका विषयलाई प्राथमिकता दिइनेछ । घोषापत्रमार्फत विचार र राजनीतिक सिद्धान्तका विषयमा गम्भीर छलफल र बहसको प्रारम्भ हुनेछ,’ सापकोटाले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा गठित कार्यदलमार्फत घोषणापत्र लेखनको काम भइरहेको र यसै साता घोषणापत्र सार्वजनिक गरिने जनाएको छ । पार्टीका नेता विराजभक्त श्रेष्ठले आफ्नो पार्टीले उठाउँदै आएका र मुलुकको बदलिँदो परिस्थितिमा रुपान्तरणका विषयवस्तु समेटेर घोषणापत्र तयारी भइरहेको जानकारी दिए ।

‘घोषणापत्रमा राष्ट्रिय मुद्दाका साथै कृषि, पर्यटन, रोजगारलगायतका विषयवस्तु  समेटिने छन्,’ श्रेष्ठले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा चुनावी घोषणापत्र लेखन कार्यदल बनाई काम गरिरहेको जनाएको छ । सो पार्टीका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहन श्रेष्ठले कार्यदलमार्फत चुनावी घोषणापत्र लेखन कार्य अन्तिम चरणमा पुगेको र यसै साता सार्वजनिक गरिने जानकारी दिए ।

‘घोषणापत्रमा राप्रपाले निरन्तर रुपमा उठाउँदै आएको पूर्ण समानुपातिक निर्वाचन, २०४६ सालपछि उच्चपदस्थ राजनीतिज्ञ र कर्मचारीको सम्पत्ति सार्वजनिकलगायत सामाजिक आर्थिक रुपान्तरणका विषयवस्तु अघि सारिने छन्,’ उनले भने ।

यसैगरी, अन्य राजनीतिक दलहरुले पनि आसन्न निर्वाचनका सिलसिलामा चुनावी घोषणापत्र तयारी गरिरहेको र यसैसाता सार्वजनिक गरिने जनाएका छन् । 

प्रतिनिधिसभाका लागि १६५ वटा निर्वाचन क्षेत्रमा हुने मतदानमा विभिन्न ६८ दलबाट तीन हजार ४०६ उम्मेदवार रहेका छन् । यस निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले मताधिकार प्रयोग गर्न पाउनेछन् । प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनका क्रममा १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ वटा मतदान केन्द्र निर्धारण गरेको आयोगले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update