Odapalika - The Fourth Estate - चौथो अंग
बालेनले लेखेनन् श्रीमतीको नाम, सविनाले मागिन बालेनलाई भोट

काठमाडौँ । फागुन २१ को लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा विजय प्राप्त गर्न उम्मेदवारहरु जनताको घरदैलोमा पुगिसकेका छन् ।

माघ ६ गते उम्मेदवारी दर्ता गरेर उम्मेदवारहरु अहिले आफ्नो पक्षमा परिणाम पार्नको लागि मतदाता रिजाझाउन व्यस्त छन् । मतदाताको मन जित्न केही उम्मेदवारहरु अनौठा अनौठा हर्कतहरु पनि गरिरहेका छन् ।

आफ्नो उम्मेदवार जिताउनको लागि राजनीतिक दल, कार्यकर्ता, शुभेच्छुक तथा आफन्तहरु मैदानमा भिडिसकेका छन् । यसैक्रममा झापा–५ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) की श्रीमती सविना काफ्ले आफ्नो श्रीमानलाई भोट दिनु भन्दै झापा–५ का मतदाताबीच पुगिसकेकी छन् ।

सविनाले श्रीमान बालेनको लागि भोट मागेकी हुन् । उनले भोट माग्दै स्थानीय मतदातासँग साक्षात्कार गरेको फोटो र भिडियोअरु सामाजिक संजालमा पनि भाइरल भइरहेको छ । सो क्षेत्रबाट एमाले अध्यक्ष केपी शर्मा ओली पनि चुनावी प्रतिस्पर्धामा छन् । रास्वपाले बालेनलाई र एमालेले ओलीलाई आगामी प्रधानमन्त्रीको उम्मेदवार पनि बनाएको छ ।

फागुन २१ मा हुने निर्वाचनको लागि माघ ६ गते उम्मेदवारी दर्ता भइसकेको छ । उम्मेदवारले उम्मेदवारी दर्तासँगै आफ्नो वैयक्तिक विवरण पनि भर्नुपर्ने हुन्छ । तर, बालेनले निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराउँदा श्रीमतीको नाम भने खुलाएका छैनन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारहरुको विवरणमा बालेनले पत्नीको नाम, शैक्षिक योग्यता हासिल गरेको संस्था, अनुभव र उम्मेदवारले उल्लेख गर्न चाहेको अन्य विवरण भरिएको छैन । यी कोठा खाली छन् । बालेनले श्रीमतीको नाम उल्लेख नगरेपनि उनकी श्रीमती सविना काफ्ले भने झापा पुगेर बालेनलाई भोट मागिरहेकी छन् ।

झापा–५ बाट प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएका बालेन यसअघि काठमाडौँ महानगरको मेयरमा निर्वाचित भएका थिए । उनी मेयर पदबाट राजीनामा गरेर प्रतिनिधिसभा निर्वाचनमा होमिएका हुन् । 

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update