काठमाडौँ । संघ सरकारले स्थानीय सरकारहरुले नागरिकलाई दिने विभिन्न प्रकारका अंग्रृेजी भाषाको सिफारिसहरुको ढाँचा पठाएको छ ।
स्थानीय तहहरुले प्रदान गर्ने अंग्रेजी भाषाको सिफारिसमा एकरुपता नआउँदा समस्या भएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय सरकारहरुलाई ढाँचा पठाएको हो ।
सिफारिसको ढाँचामा एकरुपता कायम गर्न परराष्ट्र मन्त्रालयले सामान्य प्रशासन मन्त्रालय मार्फत स्थानीय सरकारहरुसँग अनुरोध गरेको छ ।
‘स्थानीय तहबाट गरिएका सिफारिस पत्रहरु परराष्ट्र मन्त्रालयबाट पठाइएको अंग्रेजी भाषाको ढाँचा र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण नियमावली, २०७७ को अनुसूचिमा उल्लेखित ढाँचाभन्दा फरक परेको गुनासो आएकोले विदेशी मुलुकमा पेश गरिने प्रमाणिकृत कागजातहरुको एकरुपता, विश्वसनीयता कायम गर्न स्थानीय तहले गर्नुपर्ने विभिन्न सिफारिसहरु तथा कागजात प्रमाणित गर्दा परराष्ट्र मन्त्रालयको मिति २०८२।०७।११ को पत्रसाथ पठाइएका देहायका ढाँचाहरु (संलग्न) र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण नियमावली, २०७७ को अनुसूचिमा उल्लेख भएका ढाँचा (अंग्रेजी भाषा) अनुसार गर्नु गराउनु हुन यस मन्त्रालयको मिति २०८२।१०।१२ को निर्णय (सचिवस्तर) अनुसार अनुरोध छ,’ मन्त्रालयले स्थानीय तहहरुलाई लेखेको पत्रमा उल्लेख छ ।
संघ सरकारले बैवाहिक अवस्था, दाम्पत्य जीवनको अवस्था, ठेगाना प्रमाणिकरण, जन्म मिति तथा स्थान प्रमाणिकरण, सम्बन्ध प्रमाणिकरण, विवाह प्रमाणिकरण, सम्बन्ध विच्छेद प्रमाणिकरण जस्ता १२ प्रकारका सिफारिस तथा प्रमाणिकरणको ढाँचा उपलब्ध गराएको हो ।






