काठमाडौं- घुसमा प्रतिकूल बकपत्र गरेको आरोपमा दुई जना सरकारी साक्षीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
अख्तियारले बिहीबार भक्तपुरको चाँगुनारायण नगरपालिका–४ बस्ने तेज बहादुर तामाङ र सानुकान्छा तामाङविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
प्रतिवादीहरूले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतको मिलेमतो र योजनामा सेवाग्राहीसँग २४ लाख ५० हजार रुपैयाँ घुस लिएर भ्रष्टाचार गरेको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ ।
अख्तियारका अनुसार प्रतिवादीहरूले आचार्य र राउतसमेतको मिलेमतो र योजनामा साविक चाँगुनारायण गाउँ विकास समिति–५ख, कित्ता नं. २८६ र कित्ता नं. २८९ को जग्गा मोही बाँडफाँड/नामसारीका लागि सहजीकरण गरी जग्गाधनी दर्ता प्रमाण पुर्जा बनाई दिने भनी घुस लिएको पुष्टि भएको हो ।
अख्तियारले तामाङद्वयलाई कैद र बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ ।







