Odapalika - The Fourth Estate - चौथो अंग
पर्साको स्थलगत रिपोर्टः कस्ले जित्छ फरक पाटो, घण्टी मोह बढेको हो 

बीरगञ्ज । औद्योगिक शहर बीरगञ्जलाई चुनावको रौनकले भन्दा पनि दिनप्रतिदिन गिर्दै गएको व्यापारको तनावले बढी पिरोलेको छ । 

दल र उम्मेदवार भोट माग्न पुगिसकेका छैनन् । मतदाता आफ्नै कर्ममा व्यस्त छन् । कतिपयलाई व्यापार घटेको चिन्ता छ । कतिपयलाई रोजगारी नपाएको गुनासो छ । 

देशभर नयाँ दल र पुराना दलबीच आरोप प्रत्यारोप जारी छ । तर बीरगञ्जका मतदातामा चुनाव हुन्छ र भोट दिनुपर्छ भन्ने उत्साह बढेको पाइएन । र, पुराना दलहरुप्रति मतदाताको दृष्टिकोण पनि बदलिदै छ । 

बीरगञ्ज पर्सा जिल्लाको मात्र होइन, नेपालकै प्रमुख औद्योगिक शहर हो । वडापालिका टिमले यो शहरमा दुई दिन बसेर अनेक पक्षका मानिसरुसँग संवाद गर्यो । सो क्रममा यो टिप्पणी लेख्दा यति भन्न सकिन्छ कि बीरगञ्जका मानिसहरु ‘चुपचाप पुराना दलको छाप’ भन्ने पक्षमा रहेनछन् ।

बीरगञ्जको चर्चित भेटघाट स्थल हो, गहवा मन्दिर परिसर । यहाँ पर्साको ४ वटै निर्वाचन क्षेत्रका मतदाताहरु विहान वेलुका आइपुग्छन् । त्यही मन्दिर परिसमा भेटिए हनुमान माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक शत्रुघन गिरीसहितको अवकाशप्राप्त शिक्षकहरू ।

गिरीले योपटक जनताले पर्साका चारवटै क्षेत्रमा मत परिवर्तन गर्न चाहेको विश्लेषण सुनाए ।

‘माथिमाथि कांग्रेस एमाले नै छन् तर भित्रभित्रै घण्टी बजाउने खेल भइरहेको छ,’ उनले भने ।

संवादकै क्रममा उनले खुलाए अनुसार उनी विगतमा एमालेको विभिन्न तहमा बसेर काम गरेको व्यक्ति हुन् । परिवर्तनका लागि कार्यकर्ताले पार्टीभन्दा माथि उठेर मतदान गर्ने दाबी गिरीको छ । 

चियाँगफमा गिरी भन्दै थिए– भारतमा मोदी लहर जस्तै नेपालमा बालेन शाहको क्रेज बढेको छ, पर्सामा घण्टी बज्ने देख्छुँ । 

मन्दिर नजिकै विनोद सिंहको टीका जेनरल कस्मेटिक स्टोर छ । सिंहलाई रास्वपाबाट को उम्मेदवार छ भन्ने थाहा छैन । तर, उनी घण्टीमा भोट हाल्ने तयारीमा छन् ।

‘यहाँ उम्मेदवार को छ म चिन्दिनँ, बालेन शाहको नाममा भोट हाल्छु,’ उनले भने । 

अहिले पर्सामा बालेन ब्रान्ड उच्च मागमा छ । हामीसँग कुराकानी गरेका मतदाताले रवि लामिछानेलाई रुचाएको पाएनौं । उम्मेदवार नचिने पनि आफूहरुले घण्टीमा मतदान गर्ने उनीहरुको कुरा सुनियो । हामीले कुराकानी गरेका मतदातामध्ये बहुसंख्यक मतदाता मत परिवर्तनको पक्षमा देखिए । यद्यपि, यो मत अन्तिम समयमा घण्टीमै जान्छ वा पुरानै दलमा भन्ने यकिन अहिले नै भइसकेको पाइएन । किनभने धेरै मतदाताले बालेन पुगेका ठाउँमा जम्मा भएको भिडलाई आधार मानेर आफ्नो धारणा तय गरेको जस्तो पनि देखियो ।

बीरगञ्ज महानगरपालिकाको वडा नम्बर २४ मा पर्ने रामगढवा पर्साको क्षेत्र नम्बर २ मा पर्छ । यस वडामा कांग्रेसका पुराना मतदाता छन् । हामीसँगको कुराकानीका क्रममा ५१ वर्षीय रामजी पटेल तथा उनको परिवारले अहिलेसम्म रूख बाहेक अन्य चिन्हमा छाप नलगाएको दाबी उनले गरे । उनी पनि यसपालि भने बालेन सरकार बनाउन घण्टीमा भोट हाल्ने मनस्थितिमा छन् ।

वीरगञ्ज महानगरपालिकाको अपौलीका ३० वर्षीय निरन्जन चौरसियाले पनि यसपटक मत परिवर्तन गर्ने बताए । सोही स्थानमा भेटिएका ६२ वर्षीया उमा देवी र उनका छोरा ३४ वर्षीय चन्देश्वर सहनीले यसअघि एमालेलाई मत दिँदै आएको बताए । तर यसपटक कसलाई दिने भन्ने निर्णय नगरिसकेको उनीहरूको छ ।

विन्ध्यावासिनी गाउँपालिकाका मनोरमा देवी, उनका श्रीमान् रामप्रवेश हाजरा र छोरा सुनिल हाजराले पनि यसपटक मत परिवर्तन गर्न चाहेको बताए । विन्ध्यावासिनी मन्दिरका मुख्य पूजारी पुरुषोत्तम अधिकारीले घण्टीमा मतदान गर्न भनेकोले आफूहरूले त्यसै गर्ने  रामप्रवेशले बताए । हाजराका अनुसार टोलभरीका मानिसहरु पूजारीको अनुनायी भएको तथा पुजारी भने रास्वपा प्रवेश गरेकाले सबैले उनको निर्देशनमा चल्ने बताए । विन्ध्यावासिनी गाउँपालिका पर्साको क्षेत्र नम्बर ३ अन्तर्गत पर्छ । 

यसरी हेर्दा यसपटक मधेशको मनोविज्ञान बदलिएको देखिन्छ । हामीले कुरा गरेका अधिकांशले आफूले कता मतदान गर्ने भनेर खुलेरै भने । कतिपयले नाम गोप्य राख्न चाहे भने कतिपयले मत परिवर्तनको मात्रै संकेत गरे । 

प्रतिनिधिपात्र र अन्य उल्लेख नगरिएका पात्रहरुको मनोविज्ञान हेर्दा मधेश प्रदेशमा यसपालि भिन्न मतादेश प्राप्त हुने सम्भावता देखियो । पर्सामा प्रदीप यादव, अजय चौरासीया, रमेश रिजाल, अनिल रुगंटा जस्ता उम्मेदवार छन् । जो पैसा र पावरले सम्पन्न छन् । तर पर्साले विस्तारै फरक संकेत गर्छ । यतिसम्म कि हामीले अनुगमन र फिल्ड अध्ययन गरेका ठाउँहरुमा मधेश राजनीतिलाई आधार बनाएर उभिएका दलहरु जसपा वा जनमतहरु कमजोर छन् । जबकि, भर्खरै उदाएको र मधेशको एजेन्डा यहाँको अधिकार र अपनत्व बारे स्पष्ट बोल्न नसेको रास्वपाप्रति क्रेज बढेको महसुस हुन्छ ।

के पर्सा साँच्चै मत परिवर्तन गर्दैछ ? यो प्रश्नको जवाफ अहिले दिन सकिदैन । किनभने चुनाव आउन अझै लामो समय बाँकी छ । पुराना राजनीतिक दलहरु घोषणापत्रसहित निर्वाचनमा निस्कदै छन् । अलि अगाडिदेखि चुनावी प्रचारप्रसारमा निस्किएको रास्वपाले अहिले प्राप्त गरेको माहोल कायम राख्छ वा कम हुन्छ, जस्ता विषयले ‘स्वीङ भोट’ प्रवाह हुने दिशा संकेत गर्नेछ ।

प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  २२:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update