Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्री बन्न हिडेका बालेनले नेतृत्वको महानगर ६ प्रतिस्पर्धीमा छैटौं

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्न देश दौडामा निस्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले नेतृत्व गरेको स्थानीय सरकारको कार्यसम्पादन महानगरमध्येमै सबैभन्दा कमजोर देखिएको छ ।

देशभर ६ महानगर छन् । त्यसमध्ये काठमाडौं महानगरको कार्यसम्पादन सबैभन्दा कमजोर देखिएको हो ।

प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजा अनुसार काठमाडौं महानगरपालिकाले १०० पूर्णाङ्कमा ४४.९७ अंक प्राप्त गरेको छ। यो अंक अन्य महानगरहरूको तुलनामा सबैभन्दा कम हो ।

प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रत्येक वर्ष स्थानीय तहहरूले गर्ने खर्च, राजस्व सङ्कलन, बजेट व्यवस्थापन र सेवा प्रवाहका आधारमा यो मूल्याकंन गर्ने गर्दछ। 

महानगरमध्ये कोशी प्रदेशमा पर्ने विराटनगर महानगरपालिका प्रथम भएको छ । सो महानगरले १०० मा ७८.११ अंक पाएको छ । सो महानगरको मेयर नेपाली कांग्रेसका नेता नागेश कोइराला छन् ।

दोस्रो स्थानमा भने बागमती प्रदेशमा पर्ने ललितपुर महानगर छ । सो महानगरले ७६.३३ अंक पाएको छ । ललितपुर महानगरको मेयर पनि कांग्रेस नेता चिरिबाबु महर्जन छन् ।

तेस्रो स्थान भरतपुर महानगरले पाएको छ । सो महानगरले १०० मा ६८ं०४ अंक प्राप्त गरेको आयोगले जानकारी दिएको छ । भरतपुर महानगरको मेयर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहालले गरेको थिइन् । दाहाल पनि फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार महानगरको मेयरबाट बाहिरिइसकेकी छन् ।

चौथो स्थानमा पोखरा महानगर छ । पोखराले ५८.७६ अंक पाएको छ । सो महानगरको नेतृत्व तत्कालिन नेकपा एसका नेता धनराज आचार्यले गरेका छन् ।

६ वटा महानगरमध्ये वीरगञ्ज महानगरले पाँचौ स्थान प्राप्त गरेको छ । सो महानगरले ५४। अंक प्राप्त गरेको आयोगले जानकारी दिएको छ । वीरगञ्ज महानगरको नेतृत्व राजेशमान सिंहले गरेका छन् । उनी हालै नेकपा एमाले प्रवेश गरेका छन् । स्वतन्त्र उम्मेदवार बनी मेयर निर्वाचन भएका बालेनले नेतृत्व गरेको काठमाडौँ महानगर छैटौं स्थानमा छ । बालेन अहिले २१ फागुनपछि गठन हुने सरकारको प्रधानमन्त्री बन्ने देश दौडाहामा छन् ।

आयोगले स्थानीय तहको कार्यसम्पादन मापन गर्न १७ वटा मुख्य सूचकहरू निर्धारण गरेको छ। यी सूचकहरूमा प्राप्त गरेको अंककै आधारमा स्थानीय तहले केन्द्र सरकारबाट पाउने समानीकरण अनुदानको परिमाण तय हुने गर्दछ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  २२:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update