Odapalika - The Fourth Estate - चौथो अंग
निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

काठमाडौं- राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने निर्णय गरेको छ ।

परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज  सिंहदरबारमा भएको बैठकले निर्वाचन सुरक्षा व्यवस्थाको समीक्षा गर्दै निर्वाचनका लागि आवश्यकपर्ने सम्पूर्ण सुरक्षा व्यवस्था भएको निष्कर्ष निकालेको छ ।

बैठकले मुलुकमा शान्तिसुरक्षा र अमनचयन कायम गर्न सम्बन्धित सुरक्षा निकायलाई थप प्रभावकारी र समन्वयात्मक रुपमा परिचालन गर्ने निर्णय गरेको रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिए।

राष्ट्रिय सुरक्षाका विविध चुनौती तथा राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय क्षेत्रमा विकसित घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्नसक्ने प्रभावका साथै भावी रणनीतिबारे छलफल भएको थियो । 

बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, मुख्यसचिव सुमनराज अर्याल र प्रधानसेनापति अशोकराज सिग्देल सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  २१:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update