काठमाडौँ । नेपाली कांग्रेसमा अहिले विशेष महाधिवेशनबाट सर्वसम्मत घोषणा गरिएको केन्द्रीय कार्यसमिति छ । पुस अन्तिम साता काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति बनाएको थियो ।
विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुअघि शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले ं२०८३ बैशाख २८ गतेदेखि ३१ गतेसम्म पार्टीको नियमित महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, यहीबीचमा विशेष महाधिवेशन भएर नयाँ नेतृत्व आएपछि पार्टीको नियमित महाधिवेशन के हुन्छ भन्ने विशेषमा धेरैको चासो छ ।
यसैबीच वडापालिकाले कांग्रेस प्रवक्ता देवराज चालिसेसँग सम्पर्क गरी बैशाखमा गर्ने भनिएको नियमित महाधिवेशन हुन्छ कि हुँदैन भनेर सोधेको छ ।
‘बैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय यसअघिको केन्द्रीय कार्यसमितिको हो । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आएको छ । अब नयाँ नेतृत्वले नयाँ मिति तय गर्छ,’ प्रवक्ता चालिसेले वडापालिकासँग भने ।
उनले नयाँ मितिका विषयमा अहिलेसम्म कुनै छलफल नभएको पनि बताए । अब केन्द्रीय कार्यसमितिको बैठक बस्ने र त्यो बैठकले पहिला फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्ने र त्यसपछि नियमित महाधिवेशनको नयाँ मिति तय गर्ने उनले बताए ।







