काठमाडौँ । मुलुकको बदलिँदो राजनीतिक र सामाजिक परिवेशमा सतहमा आएको जेनजी आन्दोलनले विश्वकै पवित्र तीर्थस्थल पशुपतिनाथ क्षेत्रलाई समेत नराम्ररी पिरोलेको तथ्य कार्की आयोगको प्रतिवेदनले बाहिर ल्याएको छ ।
प्रहरी वरिष्ठ नायब निरीक्षक शंकर प्रसाद चिदी मगरले आयोग समक्ष दिएको बयानका आधारमा तयार पारिएको यो प्रतिवेदनले आन्दोलनका नाममा भएका उग्र र अराजक गतिविधिलाई छताछुल्ल पारेको हो ।
२०८२ भदौ २३ गतेदेखि सुरु भएको प्रदर्शनले २४ गते उग्र रूप लिँदा आन्दोलनकारीको निशानामा पशुपति क्षेत्र विकास कोषको कार्यालय र त्यहाँ कार्यरत सुरक्षाकर्मीका निजी सम्पत्ति परेको उल्लेख छ ।
प्रतिवेदनका अनुसार संसद् भवन, सिंहदरबार र भीआईपीका निजी निवासहरूमा तोडफोड र आगजनीको शृङ्खला चलिरहेका बेला प्रदर्शनकारीको एउटा समूह पशुपति क्षेत्रतर्फ गएको थियो ।
चक्रपथ सडकसँगै रहेको पशुपति विकास कोषको कार्यालयमा प्रदर्शनकारीले सिधै धावा बोलेर आगजनी गरेपछि स्थिति नियन्त्रणबाहिर जाने खतरा भएको थियो । कोषको पार्किङमा रहेका सुरक्षाकर्मीका सवारी साधन जलाइएको थियो ।
धार्मिक र सांस्कृतिक धरोहर मानिने पशुपति मन्दिरमा समेत क्षति पुग्न सक्ने आकलन गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त सुरक्षा दिएका थिए ।
मन्दिरको भित्री भागमा नेपाल प्रहरी र बाहिरी क्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा घेरा कडा पारेकै कारण मुख्य मन्दिर परिसर भने ठुलो क्षतिबाट जोगिएको उल्लेख छ ।
आयोगको प्रतिवेदनले घटनामा भौतिक सम्पत्तिको क्षति भए तापनि पशुपति मन्दिरको मुख्य संरचना, प्रहरीको हातहतियार, गोलीगठ्ठा र महत्त्वपूर्ण सरकारी कागजातहरू सुरक्षित रहेको भनेको छ ।






