सभामुखमा रास्वपाका अर्याल निर्विरोध

काठमाडौँ । प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डिपी अर्याल निर्विरोध निर्वाचित भएका छन् ।

सभामुखको निर्वाचन कार्यक्रमअन्तर्गत तोकिएको समयभित्र रास्वपाका उपसभापति समेत रहेका अर्यालको मात्रै उम्मेदवारी परेको हो ।

सङ्घीय संसद् सचिवालयले तर्जुमा गरेको कार्यतालिकाअनुसार आज बिहान ११ बजेदेखि २ बजेसम्म संसद् सचिवालय, सिंहदरबारमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेकामा उक्त अवधिमा अर्यालको मात्रै सूचना दर्ता भएको हो । 

अर्यालको प्रस्तावकमा रास्वपाका सभापति रवि लामिछाने र समर्थकमा सोही दलका सांसदहरू सोबिता गौतम, डा स्वर्णिम वाग्ले र सुनील लम्साल छन् ।

कार्यतालिका बमोजिम सचिवालयले तोकिएको समयमा दर्ता भएका एकमात्र उम्मेदवारको सूचना प्रकाशन गरेको छ । दर्ता भएका प्रस्तावका सूचनालाई चैत २२ गते हुने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ । एकमात्र उम्मेदवारी परेकाले अर्याल निर्विरोध निर्वाचित भएका हुन् ।

गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले १८२ स्थानमा विजय हासिल गरेको छ । यो संख्या प्रतिनिधिसभाको कुल २७५ सदस्यको करिब दुईतिहाइ हो । दुईतिहाइ मत पुग्न १८४ सांसद हुनुपर्छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update