नीति तथा कार्यक्रममाथिको प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिने, अर्थमन्त्रीले दिने

 

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ नदिने भएका छन् ।

बैशाख ३० गते बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै विपक्षी दलका सांसदले विरोध गरेपछि बैठक आजसम्मको लागि रोकिएको थियो ।

तर, संसदमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री शाहले नदिई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन् ।

प्रतिनिधिसभाको आजको कार्यसूचीमै नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने उल्लेख छ । आज बिहान तय भएको प्रतिनिधिसभाको दैनिक कार्यसूचीको दोस्रो नम्बरमा यो विषय छ ।

‘सम्माननीय प्रधानमन्त्रीको तर्फबाट माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्माननीय राष्ट्रपतिले २०८३ वैशाख २८ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आ.व. २०८३/०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुने,’ कार्यसुचीमा उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रममाथिको छलफल तथा जवाफका लागि विपक्षी दलहरूले प्रधानमन्त्री खोजिरहेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षीहरूले लगातार नारावाजी र अवरोध गरेका थिए ।

प्रधानमन्त्रीले नै नीति तथा छलफल माथिको प्रस्ताव सदनमा टेबल गर्नुपर्ने विपक्षीको माग थियो । पछि सभामुखको पहलमा भएको छलफलपछि विपक्षी दलहरू मन्त्रीलाई टेवल गर्न दिन तयार भए पनि छलफलमा तथा जवाफ दिन प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडानमा रहेका थिए ।

प्रधानमन्त्रीलाई उपस्थित हुन रुलिङ गर्न उनीहरूले पटकपटक सभामुखसँग आग्रह गरेका थिए । सभामुखले प्रधानमन्त्रीको कार्यसूचीबारे आफूलाई जानकारी नहुने भन्दै त्यस्तो रुलिङ गर्न नसक्ने जनाएपछि विपक्षीले हिजो बैठक चल्न दिएनन् । विपक्षीको लगातारको अवरोधपछि सभामुखले आजका लागि बैठक स्थगित गरेका थिए ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३  ११:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update