काठमाडौं - नबिल बैङ्कको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितो पत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ । प्रति शेयर अङ्कित मूल्य १०० रुपैयाँ रहेको चुक्ता मूल्य पाँच अर्ब रुपैयाँ भएको पाँच करोड कित्ता शेयरको यही २०८२ चैत्र १६ गते सोमबारदेखि कारोबार सुरु भएको हो ।
धितो पत्रको दोस्रो बजारमा कारोबार हुने यस प्रकारको अविमोच्य असञ्चिति अग्राधिकार शेयर संस्थागत लगानीकर्ताबिच मात्रै खरिद बिक्री हुनेछ । साथै सर्वसाधारण लगानीकर्ता, नेपाल धितो पत्र बोर्डबाट अनुमतिप्राप्त धितो पत्र व्यवसायी (धितो पत्र दलाल व्यापारी, मर्चेन्ट बैंकर लगायत) र सामूहिक लगानी कोषले यो अग्राधिकार शेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था छ ।
नेपाल राष्ट्र बैक तथा नेपाल धितो पत्र बोर्डले अविमोच्य असञ्चिति अग्राधिकार शेयरसम्बन्धी नीतिगत व्यवस्था गरेपश्चात्, यस किसिमको अग्राधिकार शेयर जारी गर्ने स्वीकृति नेपाल धितो पत्र बोर्डबाट पहिलो पटक नबिल बैङ्कले प्राप्त गरेको थियो । उक्त उपकरण जारी गरेपश्चात् अतिरिक्त प्राथमिक पुँजीका माध्यमबाट पुँजीगत आधार बलियो भई बैङ्कको जोखिम वहन गर्ने क्षमता बढ्ने र व्यवसाय विस्तारमा थप सहयोग पुग्ने बैकले विश्वास लिएको छ ।
नबिल बैङ्कले देशभर २६८ शाखा सञ्जालसहित ३१८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैङ्कले २५ लाखभन्दा बढी ग्राहकलाई बैङ्किङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालासँग मिलेर सँगै अघि बढ्ने विश्वास राखेको छ । चार दशकदेखि गुणस्तरीय बैङ्किङ सेवा प्रदान गर्दै आएको बैङ्कले पछिल्लो समयमा दिगो बैङ्किङको अवधारणालाई आत्मसाथ गर्दै डिजिटल बैङ्किङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।







