मदनभण्डारी राजमार्गः १३ हजार रुख कटान कार्य सम्पन्न

झापा - राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रुख कटानको कार्य सम्पन्न भएको छ ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका अनुसार सडक विस्तारको क्षेत्रमा पर्ने सुनसरी, मोरङ, झापा र इलामका सामुदायिक तथा सरकारी वनका गरी कूल १३ हजार ८३४ रुख काटिएका हुन् ।

राजमार्ग योजना कार्यालयकी इञ्जिनियर स्वस्तिका भट्टराईले सडकको भोगाधिकारका लागि माग गरिएको ५०.८४३ हेक्टर क्षेत्रफलमा रहेका सबै रुख कटान भइसकेको जानकारी दिए ।

सबैभन्दा बढी सुनसरी जिल्लामा पाँच हजार ५००, इलाममा तीन हजार ३६६, झापामा दुई हजार ८०५ र मोरङमा दुई हजार १६३ रुख काटिएको इञ्जिनियर भट्टराईले जानकारी दिए ।

सडक रेखाङ्कनभित्र पर्ने रुख काटिएसँगै हालती रुखहरूको घाटगद्दी गर्ने र नम्बरिङ गर्ने कार्यलाई तीव्रता दिइएको छ ।

इञ्जिनियर भट्टराईका अनुसार मोरङ जिल्लामा घाटगद्दी र नम्बरिङको काम पूरा भइसकेको तर सम्बन्धित डिभिजन वन कार्यालयलाई हस्तान्तरण गर्न बाँकी छ । हाल सुनसरीको झण्डा चोकदेखि झापाको बाहुनडाँगीस्थित पाटापुरसम्मको १३५.२९ किलोमिटर सडकखण्ड निर्माणाधीन अवस्थामा छ ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update