काठमाडौं । भारतको विदेश मन्त्रालयले शनिबार नयाँ दिल्लीस्थित इरानी राजदूतलाई बोलाएर होर्मुज जलमार्गमा भएको गम्भीर घटनाप्रति कडा आपत्ति जनाएको छ ।
भारतीय विदेश सचिवले इरानी राजदूतसँगको भेटमा होर्मुज जलमार्गमा भारतीय झण्डावाहक दुईवटा व्यापारिक जहाजहरूमाथि भएको गोलीबारीको घटनाप्रति भारतले गहिरो चिन्ता व्यक्त गरेका थिए ।
भारतले व्यापारिक जहाज र चालक दलहरूको सुरक्षालाई उच्च प्राथमिकता दिने कुरामा जोड दिँदै, इरानले यसअघि भारततर्फ आउने जहाजहरूलाई सुरक्षित मार्ग प्रदान गर्न गरेको सहयोगको स्मरण गराएको छ ।
विदेश सचिवले इरानी राजदूतलाई यस गम्भीर घटनाबारे इरानको उच्च नेतृत्वलाई जानकारी गराउन र भारततर्फ आउने जहाजहरूका लागि होर्मुज जलमार्गमा पुनः सहज र सुरक्षित आवागमन सुनिश्चित गर्न आग्रह गरे ।
भारतले हालसम्म इरान र अमेरिकाबीचको यो द्वन्द्वमा तटस्थ भूमिका खेल्ने र मध्यस्थताका लागि सहयोग गर्ने प्रयास गरिरहेको थियो । तर, भारतीय झण्डावाहक जहाजमाथि नै सिधै आक्रमण हुनुले चिन्ता बढाएको छ ।
भारत आफ्नो कच्चा तेल र ग्यासको ठूलो हिस्सा यही मार्ग हुँदै आयात गर्दछ । यदि यो मार्ग असुरक्षित रहिरहेमा भारतमा इन्धनको मूल्य बढ्ने र आपूर्ति प्रणाली प्रभावित हुने जोखिम रहन्छ । भारतले एकातिर इरानसँग पुरानो मित्रता कायम राख्नुपर्नेछ भने अर्कोतिर आफ्ना जहाजहरूको सुरक्षाका लागि कडा अडान लिनुपर्ने चुनौती छ ।







