काठमाडौँ । झापाको गौरादह नगरपालिकाले पेटानी बुन्ने तालिम दिने भएको छ । नगरपालिकाले चालु आर्थि वर्षको लागि स्वीकृत गरेको वार्षिक कार्यक्रममा नै पेटानी बुन्ने तालिम दिने कार्यक्रम छ ।
महिला सशक्तिकरणका लागि पेटानी बुन्ने तालिम दिन लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।
नगरपालिकाले दिएको जानकारी अनुसार तालिममा सहभागी हुनको लागि सो नगरपालिकाको स्थायी बसोबास गरेको व्यक्ति हुनुपर्छ भने उमेर १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको हुनुपर्छ । नगरपालिकाले सार्वजनिक सुचना नै प्रकाशन गरेर तालिममा सहभागी हुन लक्षित वर्गलाई अनुरोध पनि गरेको छ ।
‘यस नगरपालिकामा स्थायी रुपमा बसोबास गरिरहनु भएका कम्तिमा १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेका इच्छुक धिमाल, राजबंशी, ताजपुरिया जातिलगायत लक्षित वर्गका महिलाहरुका लागि परम्परागत पेशामा आधारित ४५ दिने एड्भान्स पेटानी बुन्ने तालिम संचालन गर्न लागिएको छ,’ नगरपालिकाको सुचनामा उल्लेख छ ।
सो सुचना अनुसार तालिममा सहभागी हुनेले बैशाख १४ गतेभित्र निवेदन दिइसक्नु पर्नेछ ।
केके चाहिन्छ कागजात ?
तालिममा सहभागी हुनको लागि निवेदनका साथ थप केही कागजात पनि चाहिने भएको छ । नगरपालिकाले दिएको जानकारी अनुसार हालसालै खिचेको पासपोर्ट साइजको फोटो टाँस गरेको निवेदन, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विवाहित महिलाहरुको हकमा विवाहदर्ता प्रमाणपत्रको प्रतिलिपि, पेटानी वुन्ने वेसिक तालिम लिएको प्रमाण पत्र हुनु पर्नेछ भने शैक्षिक योग्यता साधारण लेखपढ गरेको हुनुपर्ने नगरपालिकाको भनाइ छ ।






