काठमाडौँ । झापा जिल्लाको गौरादह नगरपालिकाले ४० वर्ष उमेर ननाघेका स्थानीयलाई लक्षित गर्दै निःशुल्क ड्राइभिङ तालिम सञ्चालन गर्ने भएको छ।
गौरादह नगरपालिकाको आयोजना तथा घरेलु तथा साना उद्योग कार्यालय, झापाको सहयोगमा हलुका सवारी चालक (ड्राइभिङ) तालिम सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।
तालिममा गौरादह नगरपालिकामा स्थायी बसोबास गरिरहेका १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका २० जना सहभागी हुनेछन्।
नगरपालिकाका अनुसार इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले ५ दिनभित्र अर्थात भदौ २८ गतेभित्र गौरादह नगरपालिकाको कार्यालयमा आवेदन दिनुपर्नेछ। तालिम २०८३ भदौ २९ गतेदेखि सुरु हुने र यसको अवधि एक महिना रहनेछ।
आवेदनका लागि हालसालै खिचेको पासपोर्ट साइजको फोटो टाँस गरिएको निवेदन, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, भएमा, पेश गर्नुपर्नेछ।
नगरपालिकाले विपन्न, दलित तथा लक्षित वर्गलाई प्राथमिकता दिने जनाएको छ। यसअघि कुनै संघ–संस्थाबाट तालिम लिएका तथा विगत वर्षमा तालिम लिएका व्यक्तिले भने आवेदन दिन पाउने छैनन्। महिला तथा पुरुष दुवैले आवेदन दिन सक्नेछन्।
तालिममा सहभागी हुन प्रचलित कानुनबमोजिम ड्राइभिङ लाइसेन्स प्राप्त गर्न आवश्यक योग्यता पुगेको हुनुपर्ने छ।
नगरपालिकाले तालिमबाट स्थानीय युवालाई सवारी चालकसम्बन्धी सीप प्रदान गरी रोजगारी तथा स्वरोजगारका अवसरमा जोड्न सहयोग पुग्ने अपेक्षा गरेको छ। थप जानकारीका लागि गौरादह नगरपालिकाको कार्यालयमा सम्पर्क गर्न सकिनेछ।




