गौरादह नगरपालिकाले किन किन्न लाग्यो कम्तिमा ३०० केजीको जर्सी गाई ?

 

काठमाडौँ । झापाको गौरादह नगरपालिकाले जर्सी वा सोहीस्तरको क्रस जातको गाई खरिदका लागि किसानसँग दरभाउ मागेको छ । 

नगरपालिकाले गाई खरिदका लागि किसानसँग दरभाउ मागेको हो । 

कम्तिमा २ वटा गाई खरिद गर्नको लागि दरभाउ माग गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

नगरपालिकाको पशु चिकित्सक स्वस्तिका सापकोटाका अनुसार गाई खरिदको लागि स्पेसिफिकेसन नै तोकेर दरभाउ माग गरिएको छ । यसका लागि नगरपालिकाले सार्वजनिक सुचना पनि प्रकाशन गरेको छ ।

‘गौरादह नगरपालिका, पशुपन्छी तथा मत्स्य विकास शाखाबाट सञ्चालित गाई पालन प्रवर्द्धन कार्यक्रम अन्तर्गत तपशिल बमोजिमका उन्नत जातका गाई खरिद गर्नुपर्ने भएकोले इच्छुक तथा सम्बन्धित कृषि पशुपालन फर्म तथा व्यवसायीहरूले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र आवश्यक कागजात सहित दररेट पेश गर्नुहुन अनुरोध गरिन्छ,’ जेठ २० गते प्रकाशन गरिएको सुचनामा उल्लेख छ ।

स्पेसिफिकेसनमा जर्सी वा सोही स्तरका क्रस जातको गाई हुनपर्ने, उमेर ४ देखि ६ वर्षको बीचमा हुनुपर्ने, न्यूनतम ३०० किलोग्राम तौल हुनुपर्ने, हाल दूध उत्पादन गरिरहेको हुनुपर्ने (दैनिक १० लिटर भन्दा बढी) र संक्रामक तथा अन्य रोगबाट मुक्त, स्वस्थ हुनुपर्ने भनिएको छ । यस्तै, सम्बन्धित पशु स्वास्थ्य प्राविधिक/पशु चिकित्सकबाट स्वास्थ्य परीक्षण गरिएको प्रमाणपत्र उपलब्ध गराउनु पर्ने तथा गाई गर्भिणी वा हालै ब्याएको भए सोको विवरण उल्लेख गर्नुपर्ने पनि शर्त तोकिएको छ ।

नगरपालिकाको पशु चिकित्सक सापकोटाका अनुसार नगरपालिकाले २ वटा गाई खरिद गर्न लागेको हो । कोशी प्रदेश सरकारले संचालन गरेको गाई पालन प्रवद्र्धन कार्यक्रम कार्यान्वयनका लागि नगरपालिकाले सुचना सार्वजनिक गरेको हो ।

‘यो कार्यक्रमको लागि १५ लाख रुपैयाँ बजेट छ । नगरपालिकाको वडा नं. ८ बाट ३ जना किसानले माग गर्नुभएको छ । उहाँहरु मध्ये १ जनाले गाई खरिद गर्ने, एक जनाले गाई खरिद र गोठ स्तरोन्नति गर्ने र एक जनाले गाई पालनको लागि आवश्यक उपकरण खरिद गर्ने भनेर माग गर्नुभएको छ । त्यसैले गाई खरिद गर्नको लागि कति बजेट चाहिने रहेछ भनेर सार्वजनिक रुपमा दरभाउ माग गरिएको र त्यसको आधारमा गाई खरिद गरी किसानलाई उपलब्ध गराउन लागिएको हो,’ सापकोटाले वडापालिकासँग भनिन् ।

यसको लागि नगरपालिकाले ५० प्रतिशत अनुदान दिनेछ भने बाँकी ५० प्रतिशत रकम सम्बन्धित किसानले लगानी गर्नुपर्नेछ । अर्थात ५ लाख रुपैयाँको गाई खरिद गर्ने हो भने साढे २ लाख रुपैयाँ अनुदान पाइनेछ भने बाँकी साढे २ लाख रुपैयाँ किसानले लगानी गर्नुपर्नेछ ।

यो बजेट कोशी प्रदेश सरकारको सशर्त  अनुदानको बजेट हो । कोशी प्रदेश सरकारले गाई पालन प्रवद्र्धन कार्यक्रममा चालु आर्थिक वर्षको बजेटमा गौरादह नगरपालिकाको वडा नं. ८ का लागि तोकेर १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सोही कार्यक्रम कार्यान्वयन गर्नको लागि नगरपालिकाले सुचना प्रकाशन गरेको हो ।

 

प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update