काठमाडौं । संघीय सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले देशभरको श्रम र रोजगारलाई एकद्वार प्रणालीमा ल्याउने पहल थालेको छ ।
मन्त्रालयले देशभरबाट रोजगारी खोज्ने र रोजगारी दिनेहरुलाई एउटै प्लेटफर्ममा समावेश गर्ने पहल थालेको हो । यस्तै, वैदेशिक रोजगारलाई पनि सोही प्लेटफर्ममा समावेश गर्न मन्त्रालयले पहल थालेको छ ।
मन्त्रालयले केही समयअघि संचानलनमा आएको श्रम संसार प्लेटफर्ममा श्रम र रोजगार खोज्ने तथा रोजगारदातालाई समेट्न लागेको हो । यसको प्रभावकारी कार्यान्वयनको लागि मन्त्रालयले देशभरका स्थानीय सरकारहरुको सहयोग अपेक्षा गरेको छ ।
पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारको पालामा श्रम संसार प्लेटफर्म तयार पारिएको थियो । सो प्लेटफर्ममा देशभरका र विदेशका पनि रोजगार तथा तालिमसँग सम्बन्धित सबै सुचना तथा जानकारी एकै स्थानमा समावेश गर्ने अवधारणा तय भएको थियो ।
अहिले मन्त्रालयले सबै स्थानीय सरकारहरुलाई पत्राचार गरी आफ्नो पालिकाभित्रका सबै विवरण श्रम संसार प्लेटफर्ममा प्रविष्ट गर्न भनेको छ । मन्त्रालयको पत्राचार पछि सबै स्थानीय सरकारले सोको कार्यान्वयन पनि सुरु गरिसकेका छन् ।
‘मन्त्रालयले बैशाख ४ गते हामीलाई पत्राचार गरेको थियो । पत्रमा सार्वजनिक सेवा प्रवाहमा डिजिटलाइजेसन गर्ने उदेश्यले मन्त्रालय मातहत रहेका सम्पूर्ण डिजिटल प्रणालीलाई श्रम संसार मार्फत एकीकृत गरी एकद्वार प्रणालीबाट संचालन गर्न भनिएको थियो । हामीले सोही अनुसार पालिकाभित्रका सबै सरोकारवालाई यसबारे जानकारी गराइसकेका छौं,’ म्याग्दीको रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले भने ।
मन्त्रालयबाट प्रत्र प्राप्त भएपछि स्थानीय सरकारहरुले आफ्नो पालिकाभित्रका सम्पूर्ण रोजगार खोजकर्ता, निजी क्षेत्र/रोजगारदाता, जव एजेन्सी तथा तालिम प्रदायक संस्था, सहकारी संस्था, गैरसरकारी संस्था, सरकारी, संयुक्त तथा निजी जलविद्युत कम्पनी जस्ता निकायहरुलाई पत्राचार गरी बैशाख १५ भित्रमा श्रम संसारमा आवद्ध हुन भनेका छन् । आवद्ध भएका संस्था तथा निकायहरुले श्रम तथा रोजगार सम्बन्धी सुचना, रोजगार तथा तालिमका अवसरहरु अनिवार्य रुपमा श्रम संसार प्रणालीमा आवद्ध गर्न भनिएको छ ।






