बालेन सचिवालयका नविनको दबाबमा सिडिएससीबाट पन्दाकको विदाई, अब के हुन्छ गोल्यानविरुद्धको अनुसन्धान ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयमा कार्यरत नविन भण्डारीको दबाबपछि सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रबन्ध संचालक प्रविन पन्दाकलाई पदबाट हटाइएको छ ।

शुक्रबार बसेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) संचालक समितिले पन्दाकलाई सिडिएससीबाट फिर्ता बोलाउने निर्णय गरेको हो । नेप्सेले पन्दाकलाई काजमा सिडिएससी पठाएको थियो । सोही कारण उनी सिडिएससीको प्रबन्ध संचालक भएकी थिइन् । नेप्सको उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारी पन्दाकलाई नेप्से व्यवस्थापनले सिडिएससीको संचालक बनाएको थियो । सिडिएससी नेप्सेको सहायक कम्पनी हो ।

नेप्से संचालक समितिबाट पन्दाकलाई फिर्ता बोलाउने निर्णय तत्काल गराउन पनि प्रधानमन्त्री बालेनको सचिवालय सदस्य भण्डारीले दबाब दिएका थिए । भण्डारीको दबाबपछि अर्थमन्त्रालयबाट संचालक बनेका देवनारायण पौडेलले बढी जोड गरेका थिए ।

शुक्रबार नै नेप्से संचालक समितिले पन्दाकलाई सिडिएससीको काज फिर्ता गर्ने निर्णय गरेपनि सिडिएससी संचालक समितिले पन्दाकलाई प्रबन्ध संचालकबाट हटाएको थिएन । पन्दाकलाई प्रबन्ध संचालकबाट हटाउन सिडिएससी संचालक समितिको बैठक आइतबार पनि बसेको थियो । यद्यपि, सो बैठकले पनि कुनै निर्णय गरेको थिएन ।

तर, प्रधानमन्त्रीको सचिवालयमा कार्यरत भण्डारीले पन्दाकलाई सिडिएसबाट तत्काल हटाउन दबाब दिइरहेको स्रोतको भनाइ छ । भण्डारीको दबाबपछि सोमबार विहान बसेको सिडिएससी संचालक समिति बैठकले पन्दाकलाई प्रबन्ध संचालकबाट हटाएको एक संचालकले जानकारी दिए ।

प्रधानमन्त्री बालेनको सचिवालयका कर्मचारी नविन भण्डारीलाई व्यवसायी पवन गोल्यानको कर्पाेरेट कम्युनिकेसन हेर्दै आएकी ज्योति गैरेले कन्भिन्स गरेको स्रोतले जानकारी दियो । ज्योति गैरे गोल्यान ग्रुप र शुलभ अग्रवालको नेतृत्वमा बनेको बलेफी जलविद्युत कम्पनीको संचालक समिति सदस्य पनि हुन् ।

स्रोतले दिएको जानकारी अनुसार अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले पवन गोल्यान र उनको परिवारको दुईटा कसुर विरुद्ध अनुसन्धान गरिरहेको छ । सिआइबीले धितोपत्र कसुर गरेको र सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा अनुसन्धान गरेको हो । गोल्यान समुहले सिटी होटलमा आइजिन मिसाएर प्रमोटर सेयरमा गोलमाल गरेको, रिलायन्स स्पिनिङ मिल्सको सेयर सुचिकरणपछि सेयरको मूल्य बढाउन २१ पटकसम्म क्लोज आउट गरेर कृत्रिम रुपमा मूल्य बढाइएको तथा बलेफी हाइड्रोपावरका संचालकहरुले प्रमोटर सेयरको लकिङ खुलेको एक साताभित्र अधिकांश सेयर विक्री गरेर भागेको जस्ता अभियोगमा अनुसन्धान भइरहेको स्रोतले जानकारी दियो ।

राज्यका निकायले अनुसन्धान गरिरहेको व्यवसायिक ग्रुपको प्रभावमा परेर नेप्से संचालक समिति र सिडिएससी संचालक समितिले पन्दाकलाई हटाएको देखिएको छ । यसले गोल्यान परिवार विरुद्धको अनुसन्धान प्रभावित हुन सक्ने आलकन पनि गरिएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३  १२:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update