राष्ट्रपतिले संविधानविद्हरुसँग गरे छलफलः प्रधानमन्त्री र दलसँग छलफल गरेर‍ निर्णय लिन सुझाव

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशका बारेमा राष्ट्रपति भवन शीतल निवासमा  संविधानविद् तथा कानुनविदहरूसँग परामर्श गरेका छन् । बिहीबार भएको परामर्शमा कानुनविद्हरू बद्रिबहादुर कार्की, महादेव यादव, पूर्णमान शाक्य, भिमार्जुन आचार्य र टिकाराम भट्टराई सहभागि भएका थिए ।

संविधानविद्ह‌रूले प्रधानमन्त्री बालेन तथा संसद्‌मा प्रतिनिधित्व गर्ने दलसँग छलफल गरेर अध्यादेश सम्बन्धमा निर्णय लिन राष्ट्रपतिलाई सुझाव दिएका छन् । संविधानको सीमाभित्र रहेर उपयुक्त निर्णय लिन उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई सुझाव दिएका हुन् । 

उपस्थित प्राय: सबै वरिष्ठ अधिवक्ताहरूले संविधानको सीमामा रहेर उपयुक्त कदम चाल्न सुझाव दिएका थिए । सरकारले विगतमा गरिएका राजनीतिक नियुक्ति एकमुष्ट खारेज गर्नका लागि विशेष व्यवस्थासहितको अध्यादेश पनि राष्ट्रपतिलाई सिफारिस गरेको छ । भटाभट अध्यादेश आएपछि राष्ट्रपतिले संविधानविद्लाई शीतल निवास बोलाएका थिए ।

संविधानविद्ह‌रूको कुरा सुनेपछि राष्ट्रपति पौडेलले सबैसँग परामर्श गर्ने बताएका थिए । सरकारले सिफारिस गरेकामध्ये सहकारी सम्बन्धी अध्यादेश राष्ट्रपतिले बिहीबार जारी गरिसकेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३  २०:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update