अत्तरिया र शुक्लाफाँटा नगरपालिकामा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा

 

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका दुई वटा पालिकाका एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएका छन् ।

क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत एसियाली विकास बैंक (एडीबी) को सहयोगमा कञ्चनपुर र कैलालीमा गरी तीन पालिकामा फोहरमैला व्यवस्थापन केन्द्रको काम अघि बढेको थियो ।    

कैलालीको अत्तरीया र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आइसकेका छन् । सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका प्रमुख तुलसीराम खर्वुजाले कैलालीको धनगढी उप महानगरपालिकामा रहेको फोहोमैला व्यवस्थापन केन्द्र शीघ्र  सञ्चालनमा आउने बताए ।

तोकिएको समयमै निर्माण सम्पन्न भए पनि धनगढी उप महानगरपालिका–७ पटेलामा बनिरहेको फोहरमैला व्यवस्थापन केन्द्रको निर्माण निर्माण पक्षले समयमै सम्पन्न गरेपनि सञ्चालनमा आउन सकेको छैन ।    

थप गरेर एक अर्ब नौ करोड रुपैयाँ लागत अनुमान रहेको उक्त व्यवस्थापन केन्द्रको ‘भिओ’ (भेरियसन अर्डर) प्रक्रियामा रहेकाले सञ्चालनमा ढिलाइ हुन गएको हो । 

‘भिओको लागि माथिल्लो निकायमा पेस गरेका छौँ । फोहरमैला व्यवस्थापनका लागि आवश्यक सवारीसाधन र ‘स्टिमेट’मा नभएको विषयको निर्माणमा पालिकाले माग गरेपछि ‘भेरियसन अर्डर’ अघि बढाइएको हो,’ सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका प्रमुख खर्वुजाले भने ।

धनगढीको फोहरमैला व्यवस्थापन केन्द्रमा ३० वर्षसम्म धनगढीको फोहर व्यवस्थापन गर्न सकिने छ । चीनको सिचुवान प्रोभिन्स जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्सले ठेक्का पाएर निर्माणको काम तोकिएकै अवधीमा सकेको हो । तर ‘भिओ’का कारण निर्माण पक्षले अहिले काम गर्न पाएको छैन ।    

सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका अनुसार कैलालीको अत्तरियामा करिब १० महिना र शुक्लाफाँटा नगरपालिकामा गत भदौ महिनादेखि फोहरमैलला व्यवस्थापन केन्द्र सञ्चालनमा आइसकेका छन् ।

‘तीन वर्षसम्म व्यवस्थापन केन्द्र निर्माण कम्पनी आफैले सञ्चालन गर्नुपर्ने हुन्छ । त्यसपछि सम्बन्धित पालिकालाई हस्तान्तरण हुन्छ,’ खर्वुजाले भने ।

सुदूरपश्चिममा एडिबीले चार वटा पालिकामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि छनौट गरेको भएपनि कञ्चनपुरको भीमदत्त नगरपालिकाले त्यसका लागि जग्गा उपलब्ध गराउन सकेन । धनगढीमा २२ हेक्टर, शुक्लाफाँटामा पाँच बिघा र अत्तरियामा पाँच हेक्टर क्षेत्रफलमा फोहरमैला व्यवस्थापन केन्द्र बनेका छन् ।

सञ्चालनमा आएका फोहरमैला व्यवस्थापन केन्द्रमा पुनः प्रयोग हुने, कुहिने र प्रयोगविहीन (नकुहिने न बिक्री हुने) गरेर तीन तरिकाले फोहर छुट्टयाएर व्यवस्थापन गरिँदै छ । शुक्लाफाँटा नगरपालिकामा ३० करोड २५ लाख रुपैयाँ लगानीमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको हो ।    

शुक्लाफाँटा नगरपालिका–११ श्रीकृष्ण सामुदायिक वन क्षेत्र (वनहरा खोलाको पश्चिम किनार) मा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको शुक्लाफाँटा नगरपालिकाले जनाएको छ ।

शुक्लाफाँटा नगरपालिका कार्यालयका इन्जिनियर लोकेन्द्र भट्टले फोहरमैला व्यवस्थापन केन्द्रको काम प्रभावकारी रुपमा भइरहेको बताए ।

‘सबै वडामा फोहर राख्ने कन्टेनरहरु राखेको छ । सहरी वडाहरुमा प्रत्येक दिन फोहर सङ्कलन गरेर व्यवस्थापन केन्द्रमा लैजाने काम भएको छ,’ भट्टले भने ।

फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आए पनि शुक्लाफाँटा नगरपालिका सरसफाइमा जोड लिइएको उनको भनाइ छ । रासस

 

प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  १३:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update