कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ स्थित बृन्दावन सामुदायिक वनले अतिविपन्न अवस्थाका बालबालिकालाई दुई वर्षदेखि निरन्तर रूपमा पठनपाठनमा सहयोग पुर्याउँदै आएको छ ।
सामुदायिक वनले सामाजिक उत्तरदायित्वअन्तर्गत असिग्राम माध्यमिक विद्यालय र मङ्गल आधारभूत विद्यालयमा अध्ययनरत जेहेन्दार, अतिविपन्न, आदिवासी जनजाति तथा दलित समुदायका बालबालिकाका लागि छात्रवृत्ति र विद्यालय पोशाक खरिद गर्न नगद रकम प्रदान गर्दै आएको छ ।
सामुदायिक वनका अध्यक्ष मोहनसिंह ऐरका अनुसार वनले गत वर्ष असिग्राम माध्यमिक विद्यालयलाई दुई लाख रुपैयाँ प्रदान गरेकामा यस वर्ष उक्त रकम वृद्धि गरी तीन लाख रुपैयाँ उपलब्ध गराएको छ ।
‘गत वर्ष मङ्गल आधारभूत विद्यालयलाई पनि दुई लाख रुपैयाँ दिएका थियौँ, तर यस वर्ष रकम अभावका कारण सो विद्यालयलाई भने बजेट व्यवस्था गर्न सकिएन । विद्यालयलाई उपलव्ध गराउने रकमबाट झण्डै तीन सय बढी बालबालिका लाभान्वित भएका छन्,’ अध्यक्ष ऐरले भने ।
सामुदायिक वनले काठ, दाउरा र घाँस बिक्रीका साथै वनभित्र रहेको तालमा माछापालन गरी आयआर्जन गर्ने गरेको छ । सोही आम्दानीको निश्चित हिस्सा शिक्षा क्षेत्रमा लगानी गरिएको अध्यक्ष ऐरले बताए ।
वनको यो प्रयासले विद्यालयमा विद्यार्थीको टिकाउदर बढाएको छ । असिग्राम माध्यमिक विद्यालयका शिक्षक नैनसिंह ऐरले सामुदायिक वनको सहयोगका कारण आर्थिक अभावकै कारण विद्यालय छाड्नुपर्ने अवस्थाको अन्त्य भएको बताए ।
‘पोशाक, शैक्षिक सामग्री र छात्रवृत्तिका लागि रकम पाउन थालेपछि विपन्न अवस्थाका बालबालिका बढी लाभान्वित भएका छन्,’ उनले भने ।
एक सय ९९ हेक्टर क्षेत्रफलमा फैलिएको यस बृन्दावन सामुदायिक वनमा छ सय ४३ उपभोक्ता घरधुरी आश्रित छन् । वन संरक्षणसँगै सामाजिक र शैक्षिक विकासमा यस वनले पुर्याएको योगदान अन्य सामुदायिक वनका लागि पनि उदाहरणीय बनेको छ ।







