भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई योग नगर घोषणा गर्ने भएको छ । नगरपालिकाले पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।
नगरपालिकाका मेयर जीवन खत्रीले यही जेठ ८, ९ र १० गते त्रिदिवसीय कार्यक्रम गर्दै चाँगुनारायण नगरपालिकालाई योग नगर घोषणा गर्न लागिएको जानकारी दिए ।
‘तीन दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बिहान ५ बजे बृहत् योग विज्ञान शिविर सञ्चालन गर्नेछौँ । अन्तिम दिन विशेष कार्यक्रम आयोजना गरी चाँगु योग ज्योति सन्देश स्मारिक सार्वजनिक एवं बागमती प्रदेश सरकारका मुख्यमन्त्रीबाट योग नगर घोषणा गर्नेछौँ,’ उनले भने ।
योग नगर घोषणासँगै नगरपालिकाले प्रत्येक वडादेखि विद्यालयहरूमा योग शिक्षक उत्पादन गर्न प्रशिक्षण सञ्चालन गर्ने र टोलटोलमा योगलाई विस्तार गर्ने मेयर खत्रीले बताए ।
चाँगुनारायणका प्रत्येक वडामा योग प्रशिक्षणदेखि योग शिविरहरु सञ्चालन हुनेछ । नियमित योग, ध्यान र प्राणायामले शरीर, मन एवं चेतनालाई सन्तुलित राख्दै शारीरिक र मानसिक स्वास्थ्यलाई तन्दुस्थ राख्न सहयोग पुर्याउँछ भन्ने सन्देश जनजनमा पुर्याउनेछौँ,’ मेयर खत्रीले भने ।
नगरपालिकाले वडाहरूमा नियमित योग शिविर सञ्चालन, विद्यालयहरूमा योग शिक्षा अनिवार्य गर्ने, स्थानीयस्तरमा दक्ष योग प्रशिक्षक उत्पादन गर्ने, योग पार्क एवं ध्यान केन्द्र स्थापना गर्ने, आयुर्वेद र प्राकृतिक चिकित्सासँग समन्वय गर्दै अभियानलाई सञ्चालन गर्ने योजना ल्याएको छ ।
पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले पहिलो सुख निरोगी काया भन्ने नाराका साथ नगरलाई योग नगर घोषणाले नगरवासीमा उत्साह थपेको बताए ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, प्रादेशिक योग समितिका सदस्य नवराज काफ्लेले चाँगुनारायण नगरपालिका देशकै पहिलो योग नगरपालिका घोषणा हुन लागेकाले यो अभियानलाई देशभरि लैजाने बताए ।






