अजिरकोट गाउँपालिकाले माग्यो नीति तथा कार्यक्रम र बजेटका लागि राय सुझाव

गोरखा । गोरखाको अजिरकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सरोकारवाला तथा आम नागरिकसँग राय सुझाव माग गरेको छ।

गाउँपालिकाले एक सूचना जारी गर्दै जेठ मसान्तभित्र आफ्ना अमूल्य सुझावहरू उपलब्ध गराउन अनुरोध गरेको छ।

नेपालको संविधानको अनुसूची ८ र ९ मा उल्लिखित स्थानीय तहको एकल तथा साझा अधिकारका विषय, स्थानीय सरकार सञ्चालन ऐन २०७४, र योजना तर्जुमा दिग्दर्शन लगायतका कानुनी व्यवस्थालाई आधार मानी बजेट निर्माणको प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले आर्थिक विकास कृषि, पशु, उद्योग, पर्यटन, सामाजिक विकास शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, पूर्वाधार विकास सडक, पुल, भवन तथा वन, वातावरण र विपद् व्यवस्थापन जस्ता मुख्य क्षेत्रहरूलाई समेटेर वार्षिक नीति तथा कार्यक्रम निर्माण गर्ने तयारी गरिरहेको छ।

असार १० गते बजेट ल्याउने तयारी

आगामी असार महिनाको पहिलो हप्ताभित्र नीति तथा कार्यक्रम र असार १० गते वार्षिक आय(व्ययको विवरण ९बजेट० गाउँ सभामा पेश गर्ने कार्यतालिका रहेको सूचनामा उल्लेख छ। सोही सन्दर्भमा गाउँपालिकाले सम्पूर्ण सर्वसाधारण, राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, सञ्चारकर्मी, तथा विभिन्न सङ्घसंस्था एवं अजिरकोटको विकासमा योगदान पुर्‍याउन चाहने सम्पूर्णमा सुझाव दिन अपिल गरेको छ।

सुझाव कसरी दिने ?

इच्छुक व्यक्ति वा संस्थाहरूले २०८३ साल जेठ मसान्तभित्र निम्न माध्यमहरू प्रयोग गरी आफ्ना सुझावहरू दर्ता गराउन सक्नेछन्स्

कार्यालयमा उपस्थित भएर : लिखित वा मौखिक रूपमा सम्बन्धित वडा कार्यालय वा गाउँपालिकाको कार्यालयमा।

इमेलमार्फत : गाउँपालिकाको आधिकारिक इमेल [email protected] मा।

सामाजिक सञ्जालमार्फत : गाउँपालिकाको आधिकारिक फेसबुक पेज अजिरकोट गाउँपालिका मार्फत।

गाउँपालिकाले स्थानीय नागरिक र सरोकारवालाहरूको सुझावलाई समेटेर बन्ने बजेट बढी व्यावहारिक र प्रभावकारी हुने विश्वास लिएको छ।

प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update