अजिरकोट- अजिरकोट गाउँपालिकामा विद्यालय दिवा खाजा कार्यक्रमको स्वच्छताका लागि ‘खाद्य स्वच्छता तथा पोषण तालिम’ संचालन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँको आयोजनामा सोमबार तालिम संचालन भएको हो ।
सामुदायिक विद्यालयहरुको दिवा खाजा कार्यक्रममा कार्यरत्त कर्मचारी तथा कार्यक्रम हेर्ने शिक्षक प्रतिनिधिलाई तालिम प्रदान गरिएको कार्यालयका प्रमुख ज्योति आचार्यले बताए । पालिकाभित्रका २२ विद्यालयहरुको शिक्षक तथा दिवा खाजा कार्यक्रममा कार्यरत्त कर्मचारी गरी ४० जनालाई दिवा खाजा स्वच्छताको विषयमा तालिम दिइएको उनले जानकारी दिए । उनका अनुसार कार्यक्रममा सहभागिलाई अन्न र दलहनबाट बन्ने सर्वोत्तम पोषिलो पिठो बनाउने प्रयोगात्मक विधी समेत सिकाइएको थियो ।
तालिममा सहभागीहरुलाई दिवा खाजामा प्रयोग गर्ने कच्चा पदार्थलाई कसरी छनौट गर्ने, सुरक्षित भण्डारण गर्ने, स्वच्छता कायम राखेर बनाउने र विद्यार्थीहरुलाई खुवाउने लगायतको विषय जानकारी दिएको खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्य बताउँछन् । उनी भन्छन्, ‘तालिममा खानेकुरामा रंगको जथाभावी प्रयोग नगर्ने, मसी युक्त पत्रपत्रिका, किताबका पानामा राखेर, बेरेर समोसा, आलुचप, सेलरोटी जस्ता तारेका, भुटेका, चिल्ला खानेकुरा नादिन नराख्न, फ्रिजको प्रयोग राम्रोसँग गर्न, सरकारले गोरखा जिल्लाको लागि तयार गरेको मेनु भित्र रहेर दिवा खाजा तयार गर्न सिकायौँ ।’
खानेकुराको तालमेल नमिल्दा फूड पोइजनिंग हुने, दीर्घरोग लाग्ने, मोटोपन जस्ता समस्या आउन सक्ने भएकाले तालिम आवश्य रहेको उनको भनाई छ । अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटा, उपाध्यक्ष अनिता भुजेल, प्रमुख प्रशासकीय अधिकृत ज्ञानु राम पन्थी, शिक्षा शाखा प्रमुख सिताराम पन्त, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्य, खाद्य निरीक्षण अधिकारी सन्तोष थापा मगर लगायतको उपस्थितिमा तालिम सम्पन्न भएको थियो ।







